नेपालगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव सुरक्षाका कारण आज बिहीबार रातीदेखि सीमा नाका बन्द हुने भएको छ । यही मंसिर ४ गते हुन गई रहेको निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आज बिहीबार राती १२ बजे रातीदेखि ४ गते राती १२ बजेसम्म सीमा नाका पूर्ण रुपमा बन्द हुने भएको हो ।
यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत भारतसँग समन्वय समेत गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ । यस अवस्थामा पेटेरोलियम पदार्थ, औषधीजन्य ढुवानी र एम्बुलेन्सको आवत जावत हुनुका साथै बिहे र लगनका विषयमा पनि छुट हुने बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।
चुनावका लागि देशभर कुल १० हजार ८ सय ९२ केन्द्र र २२ हजार २ सय २६ मतदान स्थल तोकिएको छ । आइतबार हुने मतदानमा देशभरबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चयन गर्नेछन् ।






