चितवन । चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड भयो । गाडीमा लामिछाने थिएनन् तर, प्रचार टोलीसँगै उनी पनि जाँदै थिए ।
लेवाटारमा सत्ताधारी गठबन्धनको कार्यक्रम हुँदै थियो । कार्यक्रमबाट निस्केका एकजना युवाले लामिछानेको प्रचारमा हिँडेको गाडी रोकेर तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले घटनाबारे बुझेर जानकारी दिने बताए । हिमालय न्यूज हबसँग कुरा गर्दै उनले भने– ‘गठबन्धनका कार्यकर्ताले भन्ने कुरा आएको छ, बुझेर खबर गर्छु ।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गाडी फुटाउने गठबन्धनका एकजना कार्यकर्ताको पहिचान खुलेको छ । तर, प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन । मध्यान्ह गाडी तोडफोडबारे ‘बुझ्ने काम भइरहेको’ बताएका चितवनका एसपी नवराज अधिकारी सम्पर्कमा आउन चाहेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक भएको छ । पार्टी सभापति रवि लामिछानले बिहीबार काठमाडौंमा चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक गर्नुभएको हो । पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । यस्तै, वाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।
पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा प्रतिबद्धता जनाएको छ । लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताए ।
उनले भने,‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’ लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए ।






