रुपनी जि.एम, बाँके । वि.सं. २०६३ सालदेखि मधेशी जनअधिकार फोरमबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका समसुल हक् राई २०६४ सालमा जनता समाजबादी पार्टी (जसपा) मा आवद्ध भए । जसपामा आवद्ध भएदेखि उनी पुर्व मन्त्री ईस्तियाक राईको स्वकिय सचिवका रुपमा विगत १८ वर्षदेखि आफ्नो जिम्मेवारी सम्हाल्दै पनि आए ।
तर आउँदो निर्वाचनकालागि आफु स्तन्त्र उमेदवार बन्न झण्डै २ दशक लामो जसपासंगको सम्बन्धलाई उनले तोडिदिए । निर्वाचन नजिकींदै गर्दा पुर्व मन्त्री राईको साथ छाडेका समसुलको चर्चा स्वतन्त्र उमेदवार भएपनि बाँकेमा उनको चर्चा दलीय नेताको भन्दा कमको छैन ।
समसुलले आफ्नै मन्त्री ईस्तियाकको साथ किन छाडे त ? भन्ने विषयले पनि एउटा बेग्लै चर्चा बटुलि रहेको छ । उनी मंसिर ४ गते हुन गई रहेको प्रतिनीधि सभाका लागि बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उमेदवारका रुपमा उनी चुनाव लड्दै छन् ।
उनको भनाई अनुसार पटक पटक सांसद र मन्त्री भई सकेका व्यक्तिहरु चुनावमा उठी रहन आवश्यक नै छैन । समाज रुपातरणको नाममा दल र दलीय नेताहरुले केवल जनताको भावनासंग खेलवाड गरिरहेको उनको आरोप छ । उनी भन्छन्,‘ठूूला दलका नेताहरुलाई राम्रोसंग थाहा छ कि जनताको कम्जोरी भनेको बाटो, मठमन्दिर, पाटी पौवा, खानेपानी, निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य आदि ईत्यादि विषयमा आवश्वासन दिए पुुग्छ ।’
जनतालाई विगतदेखि भ्रममा पार्दै आएको यिनै विषयहरुलाई उजागर गर्दै उनी जनतालाई नेताहरुको तिनै भ्रमबाट छुटकारा दिलाउन आफुले दल त्यागेको बताए । हिमालय न्यूज हबसंग कुरा गर्दै उनले भने,‘जनतालाई झुटो आश्वासनमा पारेर अबपनि चुनाव जित्ने सपना कसैले नदेखे हुन्छ ।
किनभने अब पालो भनेको म जस्ता फ्रेस युवाहरुको हो । जस्लाई दलका नेताहरुले महत्व दिएनन् र नदिंदाको नतिजा नै म र म जस्ता युवाहरुको स्तन्त्र उमेदवारी हो । म समाज रुपान्तरणकालागि ऊर्जाशील छु, अध्ययनशील छु, चेतनशील छु र आफ्नो प्रतिबद्धतामा कटिबद्ध भएर अगाडी बढ्दै जनताको सुखदुःखको साथी बन्न सक्छु । यो मेरो जीवनभरीकै प्रतिबद्धता हो ।’
स्वतन्त्र भएर उठ्नुको कारण भावुक हुँदै उनी भन्छन्,‘म पछाडि फर्किएर सोंच्ने मान्छे हैन । त्यसैले मैले त्यागेको पार्टी जसपाले मलाई के गर्यो भन्ने कुरालाई बिर्सिएर म केवल मेरो क्षेत्रका जनताको एउटा ईमान्दा, सच्चा, निष्ठावान र विश्वास योग्य नेता बन्न चाहान्छु ।
म केवल मेरो क्षेत्रका सानासाना भाई बहीनिहरुको उज्जवल भविष्यको रेखा कोर्न चाहान्छु । म मेरो क्षेत्रको बृद्ध भएका बुवा आमाको साहारा बन्न चाहान्छु । म मेरो क्षेत्रका सबै जनतालाई स्वस्थ जीवन दिन चाहान्छु । उनीहरुको दुुःखसुखको साथी बन्न चाहान्छु । मलाई अरु केही चाहिदैन । केवल मेरा यिनै चाहानाहरुलाई मेरो जनताले बुझि दिऊन् मलाई अरु केही चाहिंदैन ।’
पेलिटिकल साईन्सबाट मास्टरस् गरेका समसुल आफैमा एक शिक्षित व्यक्ति हुन् । त्यसैले उनलाई राम्ररी थाहा छ कि शिक्षाले मानिसको चेतनालाई विकास गर्दछ र चेतनशील मानिसले समाजको विकास गर्दछ । यस विषयमा उनको भनाई यस्तो छ,‘समाज विकासको नारा शिक्षित व्यक्ति बाहेक अरुले गरेको सुहाउँदैन ।
समाजको विकास यदि कसैबाट हुन्छ भने त्यो केवल शिक्षित व्यक्तिहरुबाट मात्र हुन्छ । समाजमा शिक्षित व्यक्तिहरु भए भने विकास गर्न कुनै कुराले रोक्न सक्दैन । र समाज स्वस्थ हुन पनि आवश्यक छ । त्यसैले मेरो चुनावनी एजेण्डा भनको,‘शिक्षित समाज र स्वस्थ व्यक्तिमा आधारित छ ।’
उमेरले ४ दशक पुरा भएका समसुलको सात भाई मध्यका माईला छोरा हुन् । उनको परिवारमा उनका ठुल दाई र उनी मात्रै राजनीतिमा आवद्ध छन् । उनका दाई मोहम्मद रजा राई जानकी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष छन् भने समसुल स्वतन्त्र उमेदवारका रुपमा यही निर्वाचनबाट राजनीतिमा प्रवेश गरेका छन् ।
झण्डै दुई दशकको हाराहारीमा पुर्वमन्त्री राईको स्वकीय सचिवको रुपमा काम गरेतापनि समसुलले यतिबेला भने आफुलाई शून्यबाट राजनीतिमा प्रवेश गराएको बताउँछन् । उनी अहिले नेता भन्दापनि जनताको सेवकका रुपमा जनताको घरघरमा आफुलाई चिनाउँदै हिंडिरहेका छन् । अहिलेसम्मको चुुनावी अभियानलाई गणितिय अंकमा हिसाब गरेका समसुलले आफ्नो जीतको नतिजालाई ६० प्रतिशतमा आँकलन गरेका छन् ।






