काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै अब आर्थिक समृद्धिको सुरुवात पनि गोरखाबाटै हुने दाबी गरेका छन् । गोरखा–काठमाण्डौ सम्पर्क समन्वय समितिले आज बुधवार आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले यस्तो दाबी गरे ।
‘म गोरखाबाट चुनाव लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो’, उहाँले भन्नुभयो, ‘यो पार्टी पुनर्निर्माणको अभियान पनि हो ।’ अध्यक्ष प्रचण्डले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेको भन्दै यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउनुभयो । देशको आर्थिक–सामाजिक रूपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेकोले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको उहाँको भनाइ छ ।
‘यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ’, उनले भने,‘देशलाई समृद्ध बनाउनका लागि प्रतिबद्धतापत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।’ देशको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे ।
‘हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ’, उनले भने,‘नयाँ आर्थिक क्रान्तिमार्फत देशलाई समृद्ध बनाउन सक्ने माओबादीमात्रै हो ।’ चुनाव जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो ।






