चितवन । तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपैयाँको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपैयाँको फूल बेचेका हुन् । गएको वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो ।
सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने,“गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।” यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनी बताउँछन् ।
तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए । फूल बिक्रीबाट सात लाख रुपैयाँभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए । “मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो”, उनले भने,“केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।” उनले अझै चाररपाँच लाख रुपैयाँको फूल बारीमा नै रहेको बताए ।
“मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ”, उनले भने । उनले १२ लाख रुपैयाँको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई छ–सात लाख रुपैयाँ बचत हुने बताउनुभयो । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उहाँले तोरी लगाइसकेका छन् ।
“यसपटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु”, उनले भने,“वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।” उनले २६ वर्षअघिसम्म काठमाण्डौमा पढाउने काम गरेका थिए । “काठमाण्डौमा बसेर १० वर्ष पढाउने काम गरेँ”, उनले भने,“त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो ।”
यसपालिको तिहारमा उनले एउटा मालाको एक सय रुपैयाँ मा बिक्री गर्नुभयो भने प्रतिकेजी चार सयमा बिक्री गरेको सुनाए । पाख्रिनले १८ वर्षदेखि व्यावसायिकरूपमा फूलखेती गर्दै आएका छन् । चितवनमा यो पेसा गरेको पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए ।
उनी भन्छन्,“फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरेँ, यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छाडेँ ।” अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उनको भनाइ छ ।
“तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ ।”, उहाँले भन्नुभयो, “बीउ आफैँ खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ ।” हिजोआज सयपत्री फूल व्यवसायिकरूपमा सुरु गर्न करिब ५० हजार रुपैयाँ भए पुग्ने उनी बताउँछन् । “पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ ।” उनले भने,“अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।”
यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन् । “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन ।”
बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरूपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हाँस्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ । बैसठ्ठी वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन् । जो अहिले व्यावसायिकरूपमा फूलखेती गरिरहेका छन् । उज्यालोबाट






