रुपनी जि.एम, बर्दिया । ०७४ सालको स्थानिय निर्वाचनबाट निर्वाचित बर्दियाको बाँसगढी नगरपालिका मेयर सालिकराम अधिकारी आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा सदस्यकालागि बर्दिया क्षेत्र नं. १ को (क) बाट प्रत्यक्ष तर्फका उम्मेदवार बनेका छन् ।
उनी भन्छन्,‘घरदैलोमा जाँदा जनताले थुप्रै विषयमा गुनासो पोखेका छन्, जनताका गुनासोलाई मैले सुनेको छु र मनन पनि गरेको छु । म नीति निमार्णको तहमा पुगें भने मेरो पहिलो प्राथामिकता जनताका यी सबै गुनासो सल्टाउनेमै हुनेछ ।’ उनको निर्वाचन क्षेत्रमा १९ वटा वडा रहेका छन् । ती मध्य सालिकरामले ११ वटा वडामा जनताको घरघरमा गएर घरदैलो कार्यक्रम गरी सकेका छन् ।
बर्दियाबासी भएकै नाताले र विगत ५ वर्ष जनप्रतिनीधि भएकै नाताले सालिकरामले आफ्नो निर्वाचन क्षेत्रको समस्यालाई नजिकैबाट बुझेका छन् । बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका उनको निर्वाचन क्षेत्र भएको हुनाले उनी ती दुईवटा पालिकाको यर्थाथ चित्रण गर्न सक्छन् सालिरामले । उनी उम्मेदवार हुनुका साथै नेकपा एमाले बर्दियाका उपाध्यक्ष समेत हुन् ।
यस अर्थमा पनि संगठन र पार्टीको काममा जनताको घरमा पुगेका उनले बर्दियाका समस्यालाई नजिकैबाट नियालेका छन् र ती समस्याको समाधानलाई पनि उनले योजनाको खाकामा उतारी सकेको बताउँछन् । उनी चुनावी अभियानकै शिलशिलमा जनताका घरदैलोमा जाँदै गर्दा जनताले उनलाई अहिलेसम्म कुनैपनि नेताले आफुहरुको आवश्यकता पुरा नगरेको भन्दै गुनासोका पोकाहरु फुकाएको उनले बताए ।
घरदैलोमा हिंडी रहंदा जनताले के भनेका छन् ? कस्तो व्यवहार देखाएका छन् । उनले जनतालाई के भनेर भोट मागीरहेका छन् ? दल र दलिय नेताहरुको आचरणबाट विच्छिप्त बेनका बर्दियाका जनताले बर्दियाको विकासको निम्ति के उनलाई विश्वास गर्दै प्रदेशसभा सदस्य बनाउँलान् त ? यो विषयलाई उनले कसरी आँकलन गरेका छन् आदि ईत्यादि विषयमा हिमालय न्यूज हबले उनीसंग कुराकानी गरेको छ ।
चुनावी अभियानका क्रममा तपाईँ जनताका घरदैलोमा गईरहंदा के भन्छन् जनताले तपाईँलाई ?
विशेष गरेर उहाँहरुले घर अगाडीको बाटो, बजारदेखि घरसम्म जोडिने बाटो, हुलाकी राजमार्गदेखि गाउँसम्म जोडिएको कच्चि बाटो, ग्राबिल भएका बाटाहरुलाई कालोपत्रेको माग, विद्यालय, पानी निकासको लागि पक्कि पुल, खानेपानी स्वास्थय आदि ईत्यादि सबै विषयहरुमा विकास गति तिव्र हुनुको साटो धिमी भएको बताउँदै यी कुराहरुमा चाँडो भन्दा चाँडो विकास गरेर आफ्नो गाउँठाउँको मुहार फेर्ने सल्लाह दिईरहनु भएको छ ।
यसका साथै भूमिमा स्वामित्व भएन भन्ने गुनासो गर्नु भएको छ । जब कि वर्षौं वर्षसम्म खेत जोतेका किसानहरुले जमिनको पुर्जा नपाएको गुनासो गर्दै आफुले भोग चलन गर्दै आईरहेको जमिनमा स्वामित्व हुनु पर्ने माग गर्नु भएको छ । यस्का साथै गुणस्तरीय शिक्षा आफ्ना बच्चाहरुले पाउन बाट बञ्चित भएको दुखेसाहरु सुनाउनु भएको छ । मैले उहाँहरुको उक्त गुनासोलाई निकै नै गम्भिरता पुर्वक लिएको छुु. र मनन पनि गरेको छु ।
तपाईँ भोट माग्नलाई जनताको घरघरमा पुगी रहंदा मतदाताहरु उत्साहीत भएको पाउनुु भएको छ या निराश भएको ?
यो समय भनेको किसानहरुले धान काटेर स्याहार्ने समय हो । त्यसैले जनताहरु घरमा भन्दा पनि खेत र खेतका आलीहरुमा भेटिन्छन् । जनतालाई भेट्दै भोट माग्न हिंडिरहेको बेला मैले धेरैलाई खेतमा धान स्याहार्न लागेकै बेला भेटेको छु । किनभने म आफैपनि किसान भएको हुनाले उहाँहरुको समयको महत्वलाई मैले बुझ्नै पर्ने हुन्छ र म त्यसै अनुरुप नै उहाँहरु भएकै ठाउँमा पुग्दा प्राय मेरो भेट घर नजिकैका खेतका आलीहरुमा हुने गरेका छन् ।
उहाँहरुलाई उहाँहरुले काम गरिरहेकै ठाउँमा गएर आफ्ना बारेमा भनि रहंदा कतिले त आत्मियता देखाउनु भएको छ भने कतिले तत्कालका किसानलाई नभई नहुने समस्याका कुराहरु सुनाउने गर्नु भएको छ । आत्मियता देखाउनु र गुुनासोबाटै आफ्ना कुराहरु राखेर मलाई सचेत गराउनु भनेको मबाट उहाँहरुले बर्दिया क्षेत्र नं. १ (क) कोलागि विकासको अपेक्षा गर्नु हो नि हैन र ? मैले त त्यसरी बुझ्ने गरेको छु । त्यसैले म भोट माग्नलाई जनता कहाँ पुगी रहंदा मतदाताहरु उत्साहीत भएको नै पाएको छु ।
अभियानकै क्रममा जनतासम्म पुगिरहंदा आत्मियता भन्ने कुरा हुन्छ नि त्यो चै कत्तिको पाईरहनु भएको छ ?
यस्तो विषयमा खासगरी दुई खाले प्रवृति, चरित्र या आचरण जे भन्नुस् त्यो देखिन्छ । खासगरी राजनीति बुझाईको हिसाबले, राजनीतिक पार्टी प्रति देखिएको कतिपय कमिकम्जोरीका हिसाबले वितृष्णा जागेको त्यस्ता खालका भावहरु पनि भेटेको छु । कुराकानी गर्नुुभन्दा अघि शुरुमा आक्रोश देखिएको छ । पार्टी प्रतिको वितृष्णा खासगरी पार्टी बुझेको व्यक्तिबाट देखिएको छ भने अर्को निकै निम्न वर्गहरु जो अभावबाट पिल्सिएका छन् उहाँहरुको आक्रोश देखिने गरेको छ ।
तर कुरागर्दै जाँदा एमालेले विगतदेखि गर्दै आएका काम र जनताकालागि निमार्ण गरेको नीतिका विषयमा भने पछि उहाँहरुको समझदारी नै पाएको छु । आत्मियता देखाउने कुरामा सुझाव सहीतको यो एउटा पक्ष भयो भने अर्को पक्ष के पाई रहेको छु भने जनताले आफ्ना दैनिक गुजाराका लागि भोगि रहेका समस्यालाई सुनाउने गर्नु भएको छ । जहाँ नितान्त उहाँहरुको आफ्ना र आफ्ना पेरीफेरीका समस्याहरुलाई राखि रहनु भएको छ ।
त्यसकारण यसरी विशुुद्ध आफ्ना समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर प्रश्न गर्ने वर्गहरुका निम्ति पनि हाम्रो पार्टी नेकपा एमालेले सजग छ, सचेत छ र गम्भिर पनि छ । जनतासंग प्रत्यक्ष बसेर उहाँहरुको कुरा सुन्दा खेरी वास्तवमा तुुलनात्मक रुपमा अरु पार्टी भन्दा र अरु पार्टीका विचारभन्दा एमालेलाई महुसुस गर्ने कुरामा आत्मियता पाएकै छु ।
यो निर्वाचनमा स्वतन्त्रको माहोल बनिरहंदा तपाईँको निर्वाचन क्षेत्रमा भने त्यस्को प्रभाव पर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
वास्तवमा यो स्वतन्त्रत भन्ने शब्द दल र दलिय नेताहरुबाट जन्मिएको एउटा वितृष्णाको नतिजा हो । स्वतन्त्रतले जनताका माग र आपुर्तिलाई परीपुर्ति गर्न सक्छ भन्ने कुनै त्यस्तो आधार देखिदैंन । राजनीतिप्रति वितृष्णा देखिएको हुनाले उत्पन्न भएको यो केवल क्षणिक प्रवृति हो, यो प्रवृति जुन राजनीति वितृष्णाबाट उन्पन्न भएको छ त्यसमा दलहरुले विचार गर्नै पर्ने हुन्छ र हामीले गरी रहेका छौं । मेरो निर्वाचन क्षेत्रको कुरा गर्ने हो भने यो विषयले खासै प्रभाव पार्ने सम्भावना छैन भनेर मैले नजर अन्दाज गरेको छैन र प्रभाव पार्छ नै भनेर चिन्तित पनि भएको छैन ।
मंसिर ४ मा हुन गई रहेको प्रदेशसभा र संघिय सभाको निर्वाचनबाट बन्ने सरकार भनेको खासगरी संसदिय व्यवस्थाको एउटा अत्यन्तै सुन्दर पक्ष हो । जहाँ बहुमत र अल्पमत हुने व्यवस्था लागू हुन्छ । त्यसकारण त्याहाँ बहुमतको सरकार बन्छ र अल्पमत विपक्ष बन्छ । विपक्षले सरकारलाई घचघच्याउने कुरा, निर्देशन गर्ने कुरा, मुद्याहरुको उठान गर्ने काम गर्छ भने सरकारले ती मुद्याहरुको सुनुवाई गर्दै कार्यान्वयन गर्ने काम गर्दछ । त्यतिबेला स्वतन्त्रको भूमिका कहाँ रहन्छ ?
यो कुरा हामीले जनतालाई बुझाउन आवश्यक र जनताले पनि बुझ्न आवश्यक छ । दलीय प्रवृतिको कम्जोरीकै कारण व्यक्ति स्वतन्त्र भएर उठेको हो नि ? अबको अभ्यास भनेको त्यही व्यक्तिलाई दलिय प्रवृतिमा आवद्ध बनाएर राजनीति गर्न सुझाव दिदैं र दल बलियो बनाउँदै लैजानुमा नै यहाँको विकासलाई अगाडी बढाउनमा मद्यत पुग्ने कुरामा उहाँहरुलाई सम्झाउन तिर मेरो अभ्यास जारी छ ।






