दार्चुला । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।
भारतीय तावाघाट(लिपुलेक सडकको लखनपुर क्षेत्रमा विस्फोट गराएको ठाउँ (माथि रातो घेरा) र विस्फोटपछि उछिट्टिएर महाकालीवारि आएको ढुंगा लागेर बालक पवन महराको मृत्यु भएको घटनास्थल (तल रातो घेरा) । इन्सेटमा बम विस्फोट गराउने भारतीय कम्पनी गर्ग एन्ड गर्गका प्रतिनिधि निशान्त साह ९बायाँ० ले मृतक महराका बुबा हिक्मतसिंह महरालाई राहत रकम दिँदै ।
धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।
विस्फोट गराइएको स्थान दुम्लिङस्थित सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीको सीमा सुरक्षा चौकीबाट करिब ४ घण्टा टाढा पर्छ भने छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट करिब १५ किमि तल पर्छ । व्यास र दुम्लिङका सुरक्षा संयन्त्रले बालकको मृत्युबारे केही घण्टापछि मात्रै थाहा पाएका थिए । ‘विस्फोट गर्ने सूचना कतैबाट आएको थिएन,’ पवनका बुबा हिक्मतले भने ।
बालकको मृत्युपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पिथौरागढस्थित जिल्लाधिकारी आशिष चौहानलाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर स्थानीय पनि आन्दोलित भएका थिए । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालयअन्तर्गत धारचुलास्थित तहसिल कार्यालयका प्रतिनिधिको रोहबरमा मृतकका आफन्त र निर्माण कम्पनीबीच वार्ता भएको थियो ।
स्थानीय जनप्रतिनिधिको टोली भारतीय पक्षसँग वार्ता गर्न मृतकको परिवारलाई लिएर धारचुला पुगेको थियो । वार्ताका क्रममा निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै माफी मागेको हो । भारतीय कम्पनीका तर्फबाट निशान्त शाह तथा नेपालबाट व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान अध्यक्ष दिलीपसिंह बुढाथोकी, व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकी र पवनका बुबा हिक्मतसिंहले सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन् ।
व्यास–२ का वडाध्यक्ष बुढाथोकीका अनुसार भारतीय सडक निर्माण कम्पनीका प्रतिनिधिले पीडित परिवारका बालबालिकालाई १२ कक्षासम्म निःशुल्क पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने बताएका थिए । तर निजी कम्पनी भएकाले रोजगारीभन्दा पनि उचित राहतको माग परिवारले गरेपछि १० लाख भारु उपलब्ध गराउने सहमति भएको थियो । कान्तिपुर
भारतीय सडक निर्माण कम्पनीले मृतक पवनका बुबा हिक्मतसिंहलाई शनिबार नै राहत रकम उपलब्ध गराएको छ । हिक्मतसिंहले यसअघि पनि भारतबाट आएका ढुंगा र विस्फोटले आफ्नो घर चर्किएको, खेतमा क्षति पुगेको र गाईबस्तु मरेको हुनाले तम्बाकु क्षेत्रबाट विस्थापित भएको सुनाए ।
‘नेपाल प्रहरीले घटनास्थलको मुचुल्का बनाइदिएपछि क्षतिपूर्तिका लागि आग्रह गरेका थियौं तर भारतीय पक्षले वास्ता गरेको छैन,’ उनले भने । हिक्मतसिंह अहिले तम्बाकुभन्दा अलि माथि रहेको थी क्षेत्रमा खेती गर्छन् र गाईबस्तु पनि त्यहीं पाल्दै आएका छन् । वडाध्यक्ष बुढाथोकीका अनुसार गत भदौमा भारतीय सडक निर्माणका क्रममा गएको पहिरोमा परी व्यास–२ का जयलाल ओड, सुकरिब धामी, धिरेनसिंह धामी र दिनेश धामी घाइते भएका थिए ।
जयलाल भारतको पिथौरागढ र धिरेन धनगढीमा उपचाररत छन् । उनीहरूले अहिलेसम्म कुनै प्रकारको क्षतिपूर्ति नपाएको बुढाथोकीले बताए । विस्फोट गराएको केही महिनापछि ठूलो पहाड खस्दा उनीहरू घाइते भएका थिए । उक्त पहिरोले नेपालतर्फको व्यास जोड्ने दुम्लिङ–कल्जु क्षेत्रको घोडेटो बाटो अवरुद्ध भएको थियो ।
प्रजिअ उपाध्यायका अनुसार भारतीय पक्षसँग शनिबार भएको वार्तामा आगामी दिनमा सीमा क्षेत्रमा निर्माणका काम गर्दा र विस्फोट गराउँदा दुवै देशका प्रशासनबीच प्रभावकारी समन्वय गर्ने, स्थानीयलाई सूचना प्रवाह गर्ने र यस्ता अप्रिय घटना हुन नदिने सहमति पनि भएको छ ।
परराष्ट्रलाई गृहको पत्र
गृह मन्त्रालयले दार्चुला घटनाको पृष्ठभूमिमा सीमा क्षेत्रमा निर्माण कार्य गर्दा स्थानीयलाई पर्याप्त र प्रभावकारी सूचना प्रवाह गराउने प्रबन्ध मिलाउने तथा दुवै देशका प्रशासनबीच समन्वयमा काम गर्ने गरी भारतलाई कूटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । बालकको मृत्यु र अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको एकतर्फी बलमिच्याइँ र ज्यादतीबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार नै गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।
त्यसको भोलिपल्ट शनिबार गृहले घटनाबारे भारत सरकारलाई ध्यानाकर्षण गराउँदै मृतकको परिवारलाई राहत दिलाउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने कदम चाल्न भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै पत्राचार गरेको हो । ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बालकको ज्यान जाने गरी भएको घटनालाई हामीले गम्भीर रूपमा लिएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले दार्चुला घटना अप्रिय र दुःखद् भन्दै छिट्टै भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गरिने र यस्ता घटना दोहोरिन नदिन पहल थालिने बताए । उनले गृहबाट पत्र आएकोबारे अनौपचारिक जानकारी भए पनि सार्वजनिक बिदा परेका कारण कूटनीतिक नोट पठाउन केही दिन लाग्ने बताए । ‘दार्चुला घटनाबारे गृह मन्त्रालयबाट आएको पत्र अध्ययन गर्न बाँकी छ,’ उनले भने, ‘शनिबार र आइतबार बिदा परेका कारण सोमबार पत्र हेरेर कदम चाल्छौं ।’
प्रधानमन्त्री देउवाले मौनता साधेः ओली
दार्चुला घटनाबारे पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाउँदै कारबाही र पीडितको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । भारतीय सुरक्षाकर्मीले गत वर्ष तुइन फुस्काउँदा दार्चुलाकै जयसिंह धामी बेपत्ता भएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवा मौन बसेको र त्यस्तै मौनता बालक मृत्युको घटनामा पनि दोहोर्याएको आरोप ओलीले लगाएका छन् ।
‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चॅलाको व्यास–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन्,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’
एमाले नेता भीम रावलले पनि विस्फोट गराउँदा ढुंगा लागेर बालकको मृत्यु भएको घटनाप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘दार्चॅलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काई महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ र १४ वर्षीया सरिना महरा घाइते भएकी छन्,’ उनले भनेका छन्, ‘सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन रु घाँटी कसले अँठ्यायो रु’ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना विस्फोट गराउनु आपत्तिजनक भएको बताए ।






