काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दल चल्नुपर्ने बताएका छन् । प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसरमा आज सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जनतालाई के विश्वास दिलाउन चाहन्छु भने– जनता यो देशका मालिक हुन् । यसै कारण सार्वभौमसत्ता सम्पन्न जनताको आदेशमा, उसको निर्णयमा सब पार्टी चल्नुपर्छ, सरकार चल्नुपर्छ ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताए । प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक चुनावमार्फत आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
उनले प्रेस स्वतन्त्रतामार्फत जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागिपरेको बताए । जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढी काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने देउवाको भनाइ थियो ।
उनले भने,‘प्रेस स्वतन्त्रता प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो । जुन देशमा प्रजातन्त्र छैन, त्यो देशमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन सक्दैन । हाम्रो पार्टीले, सरकारले प्रेसप्रति कुनै पनि किसिमको बन्देज लगाउने वा अप्ठ्यारा आउने काम गर्ने छैन । प्रेसलाई निर्बाधरूपमा लेख्ने वातावरण दिनेछ ।’






