काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाएका छन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा २ रोजेका छन् । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहट(१ बाट उम्मेदवारी दिएका छन् ।
शीर्ष नेताहरुले उम्मेदवारी दिएको क्षेत्रको अवस्था यस्तो छ
शेरबहादुर देउवा
२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक पनि डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसभित्र आन्तरिक द्वन्द्व चर्किएको २०५१ साल, माओवादीले ठूलो प्रभाव पारेको २०६४ सालको चुनाव अनि वाम तालमेल भएको २०७४ सालको चुनावमा पनि एउटै निर्वाचन क्षेत्रबाट लगातार ६ पटक विजयी नेताको कीर्तिमान बनाएका देउवा यसपटक पनि जित्नेमा निश्चिन्त छन् ।
२०७४ को पालिका चुनावमा कांग्रेसले ७ मध्ये ४ पालिका र १७ वडामा मात्र जित निकालेको थियो । त्यसबेला एमालेले सदरमुकाम रहेको अमरगढी नगरपालिकामा जित निकालेको थियो । तर, अहिलेको पालिका चुनावमा एमालेले डडेलधुराका कुनै पनि पालिकाको प्रमुख पद जित्न सकेन भने कांग्रेसले अमरगढीसहित पाँच पालिका र २९ वडा अध्यक्ष जितेको छ । बाँकी दुई पालिका र १३ वडा अध्यक्ष नेकपा माओबादी केन्द्रले जितेको छ । एमाले ५२ मध्ये ४ वडा अध्यक्षमा सीमित भएको छ ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका २, कांग्रेस (वीपी) का २ र स्वतन्त्र २ वडाअध्यक्ष छन् । यसअघि कम्युनिस्टको सहयोग नपाएका देउवा अहिले कम्युनिस्टसहितको गठबन्धनका कारण झन् सहजै चुनाव जित्नेमा ढुक्क छन् । पालिका चुनावमा अवस्था सुध्रिएका कारण पनि त्यहाँका कांग्रेसको आत्मविश्वास बढेको छ । अहिले देउवाको प्रतिस्पर्धी बनेका कर्ण मल्ल २०७४ को चुनावमा डडेलधुरा (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
लामो समय देउवाको स्वकीय सचिव रहनु भएका र दुई पटक डडेलधुरामा कांग्रेसको नेतृत्व गर्नु भएका मल्लको कांग्रेस (वीपी) ले एमालेसँग तालमेल हुँदा पनि पालिका चुनावमा २ वटा वडाध्यक्ष पद मात्रै जितेकोले पनि कांग्रेसीहरु देउवालाई कुनै चुनौती रहेको देख्दैनन् । यस क्षेत्रबाट सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
केपी शर्मा ओली
२०४८ सालदेखि झापाको क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्दै आउनु भएका केपी शर्मा ओलीले २०६४ सालमा पराजय भोगेबाहेक अहिलेसम्म जित्दै आउका छन् । यसपटक सत्ता गठबन्धनका कारण ओलीलाई २०७४ सालको चुनाव जस्तो सजिलो हुने देखिँदैन । २०७४ को चुनावमा ओलीले मुख्य प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले जीतेका थिए । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदा उहाँका मुख्य प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । ओलीले अधिकारीले भन्दा २८ हजार ८ सय ४२ अधिक मत ल्याएका थिए ।
तर, अहिले अवस्था पहिलेको जस्तो नरहे पनि झापा ५ मा एमालेको सङ्गठन बलियो रहेको मानिन्छ । झापाको निर्वाचन क्षेत्र ५ मा २९ वटा वडा रहेका छन् जसमा गएको पालिका चुनावमा एमालेले १८ वटा वडामा प्यानलै जितेको छ । ओलीको निर्वाचन क्षेत्रमा गौरादह नगरपालिकाका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ गौरीगञ्ज गाउँपालिकाका वडा नम्बरहरू ३, ४, ५, ६, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन् ।
गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष र २ वटा वडामा कांग्रेस, उपाध्यक्षसहित ३ वटा वडामा एमाले र एउटा वडामा माओबादीले जितेको छ भने कमल गाउँपालिका भने कांग्रेसले अध्यक्षसहित एउटा वडा र एमालेले उपाध्यक्षसहित ५ वटा वडा जितेको छ । यी दुवै गाउँपालिकामा एमालेले धेरै वडा जितेको छ । यस्तै, गौरादह नगरपालिकामा एमाले अध्यक्ष–उपध्यक्षसहित निर्वाचन क्षेत्र – ५ मा पर्ने छ वटा वडा जितेको छ भने दमक नगरपालिकामा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो ।
यो नगरपालिकामा एमाले ७ वटा वडा, कांग्रेसले २ र एउटा वडा राप्रपाले जितेको छ । गएको पालिका चुनावमा वडाको मतका आधारमा हेर्दा झापा ५ मा एमालेले ४१ हजार ६ सय १९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७ सय ८८, राप्रपाले ८ हजार ३ सय ५३ र एकीकृत समाजबादीले १ हजार ९ सय ८८ मत पाएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन – ३ छाडेर गोरखा – २ बाट उम्मेदवारी दिएका छन् । गोरखामा कांग्रेसकी माधवी भट्टले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यस्तै यो क्षेत्रमा एमालेबाट अब्दुस मियाँको पनि उम्मेदवारी परेको छ । माओबादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले चार पटक चुनावी प्रतिस्पर्धा गरेका छन् ।
तर, हरेक पटक उहाँले क्षेत्र परिवर्तन गरेका छन् । २०६४ सालमा संविधान सभाको चुनावमा उनले काठमाण्डौको क्षेत्र नम्बर १० तथा रोल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको थियो भने उनी दुवै क्षेत्रमा विजयी पनि भएका थिए । २०७० सालमा भएको संविधान सभाको दोस्रो चुनावमा उहाँ साविक काठमाण्डौ – १० तथा सिरहा – ५ बाट उम्मेदवार बन्नुभयो । काठमाण्डौमा उनी कांग्रेसका जिल्लास्तरीय नेता राजन केसीसँग पराजित हुन पुगेका थिए ।
सिरहामा उनले १५ हजार २ सय ४४ मत ल्याएर जित्नुभयो । उहाँको प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठले १४ हजार ३ सय २३ मत ल्याएका थिए । २०७४ सालको चुनावमा भने उनले चितवन – ३ बाट ४८ हजार २ सय ७६ मत ल्याएर राप्रपाका विक्रम पाण्डेलाई हराएका थिए । पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याएका थिए ।
तर, अहिले प्रचण्ड उम्मेदवार बनेको गोरखा – २ मा गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मतपरिणाम हेर्दा माओबादी केन्द्र एक्लैको २२ हजार २५० मत रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसको २१ हजार १ सय ३६ र जनता समाजवादी पार्टी (जसपा) को ७ हजार ५ सय ४ मत छ । यो क्षेत्रमा एमालेको ७ हजार ९ सय २६ तथा राप्रपाको ८ सय ७८ मत मात्र भएकोले पनि गठबन्धनका उम्मेदवार प्रचण्डलाई सहज छ ।
माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ – २ छोडेर रौतहट – १ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमालेबाट अजयकुमार गुप्ताको उम्मेदवारी परेको छ । यसअघि २०५६ सालको आमचुनाव तथा २०७० सालको दोस्रो संविधान सभाको चुनावमा नेपाल रौतहट – १ बाट नै निर्वाचित भउका हुन् । २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने उहाँ नेकपा माओबादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए ।
२०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर – २ बाट विजयी नेपाल यसपटक भने आफ्नो गृह जिल्लामा पुग्नुभएको छ । रौतहट–१ मा नेकपा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । एमालेले धेरै पटक चुनाव जितेको क्षेत्र हुनाले यहाँ एमाले कमजोर मानिँदैन । तर, यस पटकका एमालेका उम्मेदवार २०७४ सालको गौर नगरपालिकाको मेयर रहेका छन् । उनी भर्खरै राजपाबाट एमाले प्रवेश गरेका हुन् । यसकारण पनि यहाँ समाजबादीले आफूलाई बलियो मानेको छ ।
रौतहट–१ मा रहेको पाँचवटा पालिकामा गठबन्धन दलले नै विजय हासिल गरेको हो । गौर र राजदेवी नगरपालिकाको मेयरमा एकीकृत समाजबादी, माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस, यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजबादी पार्टी र दुर्गा भगवती गाउँपालिकामा नेकपा माओबादीका उम्मेदवारले जितेका हुन् । यसकारण पनि नेकपा समाजबादीले यसलाई सहज क्षेत्रका रुपमा लिएको छ ।
रौतहट – १ मा पर्ने गरुडा नगरपालिकाको एउटा वडा र गढीमाई नगरपालिकाको ३ वटा वडामा पनि गठबन्धनले जित निकालेकोले नेकपा समाजबादी यस क्षेत्रमा सहज जित निकाल्नेमा देखिन्छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा रौतहट – १ बाट लोकतान्त्रिक समाजबादी पार्टीका नेता अनिल झा निर्वाचित भएका थिए । पछिल्लो समय लोसपा पनि सत्तारुढ गठबन्धनमै रहेकोले पनि नेपालको जित सहज देखिनेमा आशाबादी देखिन्छन् नेकपा समाजबादीका नेताहरु ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ ( १ बाट उम्मेदवारी दिएका छन् । यसपटक पनि त्यहाँ गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । यस क्षेत्रबाट एमालेले एकबहादुर रानालाई उम्मेदवार बनाएको छ । तनहुँ ( १ बाट पहिलो पटक २०४८ को चुनाव जितेर सांसद बनेका पौडेलले २०५१ सालको मध्यावधि चुनावमा भने तनहुँ २ बाट सांसद जितेका थिए । त्यसबेला उनी प्रतिनिधि सभाको सभामुख पनि बने ।
त्यसपछि २०५६, २०६४ तथा २०७० सालमा पनि उनले तनहुँ २ बाट नै चुनाव जितेका थिए । तर, २०७४ सालमा भने उनले तनहुँ ( १ बाट उम्मेदवारी दिए । र त्यसबेला वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग उनी ६ हजार ४ सय १४ मतले पराजित भएका थिए । वाम गठबन्धनका साथै त्यहाँ बलियो पकड राख्ने गोविन्दराज जोशीले पनि त्यसबेला श्रेष्ठलाई सहयोग गरेका थिए ।
अहिले पनि जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पालिका चुनावमा जोशीका छोराले व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकोमा २ सय ५२ मतको झिनो मतले मात्रै पराजित भएका हुन् । यसकारण पनि पौडेललाई केही अप्ठ्यारो पर्ने देखिन्छ । तर तनहुँ ( १ मा कांग्रेसको प्रभाव राम्रो रहेको र गठबन्धनका कारण अझ अवस्था सहज रहेको त्यहाँका कांग्रेस नेता कार्यकर्ताहरुले आकलन गरेका छन् । उज्यालो






