काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी आफैँ उपस्थित भएर आज आइतबार दिउँसो झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
ओली २०७४ सालमा पनि झापा–५ बाट निर्वाचित भएका थिए । त्यस बेला माओवादी केन्द्रसँग वाम गठबन्धन थियो । तर यस पटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।
झापा–५ मा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।त्यसैगरी नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गराएका थिए ।






