काठमाण्डौ । नेकपा एमालेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले एमालेमा विधि र नीतिको पुनर्स्थापना हुने नदेखेपछि पार्टी छाड्ने घोषणा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीबाट लामो समयदेखि थिचोमिचोमा परेका नेता भुसालले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले छाड्ने घोषणा गरेका हुन् ।
उनलाई जिल्ला कमिटीले रुपन्देहीबाट आउँदो चुनावमा उम्मेदवारको लागि सिफारिस गरे पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भुसालले पार्टी छाड्ने निर्णय गरेका हुन् । देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै बनाएको एमालेले पछिल्लो समय ती सबै पार्टीका सिद्धान्तलाई बिर्सिदैं गईरहेको भन्ने भावमा उनले सामाजिक सञ्जालमा एमाले पार्टी छाड्ने निर्णय पोष्ट गरेका छन् ।
उनले पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेको पनि खुलाएका छन् । सामाजिक सञ्जालमा उनीद्धारा एमाले परित्याग गर्ने उक्त निर्णयमा उनले पार्टीको नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेटेका छन् । उनले दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गरेको पनि बताएका छन् ।
नेता भुसालले पार्टी भित्र संस्थागतरुपले गुटबन्दीको मैदान बनेको कुरालाई पनि उल्लेख गरेका छन् । उनले आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गएको पनि बताएका छन् । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरालाई उनले समेटेका छन् ।
नेता भुसालको योगदान एमालेमा ४ दशक भन्दा बढीको रहेको छ । नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहने बताउँदै उनले राष्ट्रको सर्वोपरी हितका लागि आफु उत्तिकै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।






