काठमाण्डौ । नेकपा (एमाले) ले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले १० भाइलाई अध्यक्ष ओलीले पेलान गरेको अवस्थामा भट्टराईलाई भने टिकट दिएका छन् । यसअघि भीम रावललाई एमालेले टिकट दिने भनेको थियो । तर, अन्तिममा अध्यक्ष ओलीकै आग्रहमा रावललाई उम्मेदवार नबनाउने निर्णय भएको छ ।
पछिल्लो सचिव भट्टराई भने अध्यक्ष ओलीसँग नजिकिएका थिए । उनी ओलीको चर्को समर्थकको रुपमा देखिएका थिए । एमालेले तिलकुमार मेनेङ्बोलाई प्रदेशसभामा उठाउने निर्णय गरेको छ । उता नेकपा एमालेका नेता भीम रावललाई भने चुनावका लागि उम्मेदवारको टिकट दिईएन । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट भीम रावललाई टिकट नदिएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट दिएका हुन् ।
एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भीम रावलले टिकट नपाएको टिप्पणी सुरु भएको छ । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । अछाम–१ मा प्रतिनिधि सभामा झपट बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएको एमाले स्रोतले जनाएको छ ।






