काठमाण्डौ । ५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ ।
जसपाको शनिबार बसेको बैठकले सिट बाँडफाँटमा गठबन्धनले आफ्नो पार्टीलाई थोरै मात्र सिट दिन तयार भएपछि अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो ।
केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरे लगत्तै जसपाको नेतृत्व र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको बताउँछन् ।
‘गठबन्धनमा कुरा नमिलेपछि जसपा एमालेसँग चुनावी तालमेल गर्न इच्छुक भएको हो । उसले पार्टीबाटै निर्णय गरेर हामीसँग तालमेल गर्न ढोका खोलेर संवादमा आएको छ ।’ भट्टराईले भने, ‘प्रारम्भिक चरणमा दुई पार्टीका अध्यक्षबीच संवाद सुरु भइसकेको छ ।’






