धरान । बैठकको एजेण्डामा धरानका मेयर कर्ह साम्पाङले कार्यपालिका सदस्यलाई बोल्ने नदिएको र बाहिर जानु भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै कार्यपालिका सदस्यहरुले बैठक बीचैमा बिथोलेका छन् । मेयर साम्पाङको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबारको बैठक बिथोल्दै बहिष्कार समेत गरेका छन् । उनीहरुले मेयर साम्पाङले सार्वजनिकरुपमा माफी नमागेसम्म बैठकमा सहभागी नहुने पनि प्रतिक्रिया दिएका छन् ।
बैठकको ८औं नम्बरको एजेण्डामा धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्ताव थियो। उक्त प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले अघिल्लोको जनप्रतिनिधिहरुको पालामा डिपिआर तयार भइसकेको र सोही अनुसार निर्माण गर्नुपर्ने बताएका थिए । साथै, मेयर साम्पाङको अवधारणा अनुसारको पार्क आदिबासी जनजाति महासंघको पहलमा विजयपुरमा निर्माण भइरहेकोले सप्तरंगी पार्कलाई अर्को बहुसाँस्कृतिक पार्क बनाइरहनु नपर्ने धारणा राखेका थिए ।
देवानले आफ्नो कुरा नसक्दै मेयर साम्पाङले रोक्दै बस्न भनेका थिए। तर देवानले आफुले बोल्न पाउनुपर्ने भन्दै अडान राख्दा मेयर साम्पाङले नबस्ने भए बाहिर जानुस् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिले नगर कार्यपालिका सदस्यहरुलाई अन्याय भएकोले बैठब बहिष्कार गरिएको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई ९मनोज०ले बताए ।
उनले भने,‘बैठकको एजेण्डामा नगर कार्यपािलका सदस्यले कुरा राख्दै गर्दा बोल्न नदिई बस्नु भन्ने, कुरा राख्न पाउनुपर्छ भन्दा निस्केर जानुस् भन्ने गैरजिम्मेवार अभिव्यक्ति आयो । नगर कार्यपालिका सदस्यलाई निस्कि, जा, आइज भन्नु न्यायोचित र शोभनिय होइन । घरमा काम गर्न राखेको व्यक्तिलाई जस्तो बोली, व्यवहार भयो ।’ मेयर साम्पाङले सार्वजनिकरुपमा माफी नमागेसम्म कार्यापालिका बैठकमा सहभागी नहुने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बताएका छन् ।
यता मेयर साम्पाङले भने सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने आफ्नो एजेण्डा असफल बनाउन प्रपञ्च भएको बताए। सप्तरंगी पार्क दयनीय अवस्थामा रहेकोले पुर्नजीवन दिन खोजेको भन्दै उनले आफ्नो योजनालाई भाजो हालेको बताए । बैठक बहिष्कार भइरहे तोक आदेशको भरमा उपमहानगरपालिका चलाउने पन उनले बताए । कार्यपालिका सदस्यलाई आफुले बुझाउन खोज्दा नमानेपछि बाहिर जानु भनेको उनले स्वीकार गरे ।
उनले भने,‘म आफ्नो अडानमा पक्का छुँ । जो कार्यपालिका सदस्य हुनुहुन्छ, उहाँलाई अब म बुझाउछुँ, तपाई बस्नुस् भन्दा बस्दिन भनेपछि बाहिर जानुस् भनेको हो । म माफी माग्दिन, तोकआदेशको भरमा चल्छ ।’ धरानका मेयर हर्क साम्पाङ काठमाण्डौ आएर फर्किएदेखि निकै बिबादमा तानिदैं आएका छन् । उनको ठाडो स्वभावको टिकाटिप्पणीकै कारण उनी विबादमा तानिने गरेका छन् । शुरुमा उनको समर्थकहरुले सामाजिक सञ्जलामा उनको तारिफ गर्ने गर्थे भने पछिल्लो समयमा तिनै समर्थकहरुले उनको बोल्ने शैलीको बिरोध गरिरहेका छन् ।






