रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनी प्रदेशमा थन्किएका बिजुली बस असोज १३ गते बिहीवारदेखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको गाडी विगत तीन वर्षदेखि थन्किरहेको थियो । गृहमन्त्री खाणले विश्व पर्यटन दिवसको अवसरमा हिजो मङ्गलबार भैरहवामा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएपछि बिजुली बस सञ्चालनमा आउने भएका हुन् ।
निर्देशनलगत्तै आज बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सङ्घ–संस्थाको बैठकले बिहीवारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँच वटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
थन्किएका बस निःशुल्करूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । भोलि बिहीवार बिहान ८ बजेदेखि लुम्बिनी बसपार्कबाट ती बस सञ्चालन हुने उनले बताए । तत्काललाई बेलहियाबाट गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिए ।
कोषले सबै बिजुली बस तथा भ्यान यही असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा पनि ल्याउने भएको छ । मङ्गलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीको मेशिनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि बिजुली गाडी सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । १२ करोड रुपैयाँका पाँच वटा बस र १४ वटा भ्यान (ट्याक्सी) एडीबीले तीन वर्षअघि दिएको थियो ।
अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन । गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेशन बनाइए पनि बस सञ्चालन नहुँदा अनुदानकै १४ करोड रुपैयाँमा निर्माण गरिएको प्लान्टबाट ५४ लाख रुपैयाँ मूल्यको बिजुलीसमेत खेर गइरहेको छ । गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडीबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो ।






