रुपनी जि.एम
बाँके । बाँकेका एक होनहार युवा जो पेशाले एक चिकित्सक हुन् । उनी हुन् डा. विनोद कर्ण । उनी नेपालगञ्जका एक मात्र प्लास्टिक सर्जन हुन् । तर राजनीतिमा स्वतन्त्र उम्मेद्धारको दाबी राख्दछन् । उनका एजेन्ण्डाहरु ठूला दलका नेताहरुको जस्तो ठूला छैनन् । तर समाजका लागि भने निकै नै आवश्यक र उपयोगी छन् । उनी आसन्न मंसिर ४ गते हुन गई रहेको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारको तर्फबाट बाँके क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभाकालागि चुनावी मैदानमा उत्रदैंछन् ।
उनी शिक्षामा भईरहेको व्यथिती, स्वास्थ्य क्षेत्रमा मौलाउँदै गरेको भ्रष्टचार र भौतिक संरचनाहरुको पुननिर्माणका कुरा गर्दै हिजो आज नेपालगञ्जका टोल र गल्लीहरुमा हिंडिरहेका भेटिन्छन् । बाँके क्षेत्र नं. २ को ‘ख’ बाट स्वतन्त्र उम्मेद्धारको दाबी गरेका डा. कर्णले चुनावी प्रचार प्रसारकालागि जनताको घरदैलमा र एक सर्जन भएको नाताले बिरामी प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्न अस्पतालको अप्रेशन कक्षमा उनलाई भ्याई नभ्याई छ । उनै डा. कर्णसंग हिमालय न्यूज हबले उनको उम्मेद्धारीका विषयमा गरेको कुराकानीको केही अंश प्रस्तुत छ ।
चिकित्सक पेशामा आवद्ध हुँदहुँदैपनि तपाईँ दोश्रो पटक स्वतन्त्र उम्मेद्धारको रुपमा चुनावमा जाँदै हुनु हुन्छ । यस पटक तपाईँको उम्मेद्धारी किन र केकालागि ?
नेपालगञ्ज आफैम एक प्रचलित शहर हो । तर यो शहरले जुन किसिमबाट स्थान पाउनु पर्ने थियो त्यो पाउन सकेन । यो शहर केवल एउटा शहरको रुपमा मात्र नभई यो यस क्षेत्रकै व्यापारिक हबका रुपमा चिनिन्छ । तर यो शहरले आफ्नो चिनारी अनुसारको विकास गर्न सहिरहेको छैन । चाहे त्यो शिक्षामा होस् या स्वाथ्यमा । चाहे त्यो यहाँका व्यापारमा होस् या बजारीकरणको सिस्टममा । पुर्वाधारको क्षेत्रमा पनि यो शहरले नयाँपन दिन सकिरहेको छैन । यी र यस्ता अन्य धेरै क्षेत्रहरु छन् जहाँ नेपालगञ्ज जस्तो प्रचलित शहर अन्य शहरको तुुलनामा पछाडी नै छ । त्यसैले अब नेपालगञ्जलाई पछाडि हैन माथि नै उकास्ने उद्येश्यले आसन्न निर्वाचनमा स्वतन्त्र भएर मैले उम्मेद्धारी घोषणा गरेको हुँ ।
तपाईँले भने झैं यो क्षेत्रले फड्को मार्न नसक्नुको मुख्य कारण के हो त ? बताई दिनुस् न ।
सबैभन्दा पहिला त ठूला राजनीतिक दलका ठूला नेताहरुले यो शहरलाई विकासको गतिबाट अगाडी बढाउनु पर्छ भन्ने नै सोचेनन् । यस्का साथै यस्लाई लुम्बिनी प्रदेशमा गाभ्नु नै ठूलो विडम्वना भयो । नेपालगञ्ज आज मात्र नभई प्रदेशबाट सधैं उपेक्षित नै रह्यो । नेपालगञ्ज त राजधानीको लागि नै उपयुक्त ठाउँ हो नि तर नेपालगञ्जलाई प्रदेशको एउटा जिल्ला बनाईयो र उपेक्षेति जिल्लाको रुपमा मात्रै सिमित गरियो । सायद यो जिल्लालाई कर्णाली प्रदेशमा गाभेको भए यो ठाउँले विकासमा फड्को मारेर आजसम्म त अगाडी नै जान्थ्यो ।
यो शहरमा के छैन ? यहाँ देशकै ठूलो विमान स्थल छ । छिमेकी राष्ट्रसंग जोडिएको व्यापारिक सिमा नाका छ । जस्लाई हामीले क्षेत्रीय र अन्तराष्ट्रिय विमान स्थल बनाउन सकथ्यौं । विकासको यत्ति धेरै सम्भावना हुँदाहुँदैपनि नेपालगञ्ज केवल नपालगञ्जमै सिमित भई रहेको छ । मेरो विचारमा त नेपालगञ्ज राज्यबाटै हेपिएको छ र अब नेपालगञ्ज कुनैपनि बाहानामा हेपिनुु हुँदैन । यहाँका जनताहरुमा नेपालगञ्जको विकासलाई लिएर चेतना आउनु पर्छ र त्यो आवश्यक पनि छ । अब नेपालगञ्ज कुनैपनि हालतमा पछाडि रहनु हुँदैन ।
राजनीति र चिकित्सा क्षेत्र यी दुुवै फरक धारका विषय हुन् । तपाईँलाई के कुराले राजनीतिमा आउनु पर्छ भन्ने लाग्यो ?
म राजनीति गर्छु भनेर लागेको हाईन । र चिकित्सा क्षेत्रबाट राजनीतिमा आउनु नै हुन्न भन्ने पनि कही छैन । तपाईँ संसार भरीकै धेरै उदाहरणहरु हेर्न सक्नु हुन्छ जहाँ धेरैभन्दा धेरै चिकित्सकहरुले राजनीति गरिरहेका छन्, नीति निमार्ण गर्ने ठाउँसम्म पुगेका पनि छन् । म यो देशको नीति निमार्ण गर्ने तहसम्म पुग्न सकुँला नसकुँला त्यो आफ्नो ठाउँमा छ । तर यदि नेपालगञ्जलाई परिवर्तन गर्ने मेरो जुुन सपनाहरु छन्, एजेण्डाहरु छन् ती कुराहरुलाई विश्वास गरेर जनताले मलाई जिताए भने मेरो एजेण्डा अनुसार नेपालगञ्जको मुहार पक्कै फेर्नेछु ।
तपाईँले चुनाव चिन्ह् पाउनु भयो भने मतदाता आर्कषण हुनकालागि मुख्य एजेण्डा के के हुन् ?
एजेण्डाको विषयमा मेरो पहिलो र निकै नै आवश्यक प्राथमिकता भनेको प्रदेश स्थरिय निशुल्क ट्रोमा सेन्टरको स्थापना गर्न जरुरी छ । र दोश्रो भनेको बाँके जिल्लाका लगभग ६० प्रतिशत युवाहरु लागुपदार्थ सेवन गरेर कुुलतमा फसिरहेका छन् । त्यस्ता युुवाहरुलाई स्वास्थ्य जीवन जिउन सहायता गर्ने र पुुर्ण रुपमा नशा मुक्त नेपालगञ्ज बनाउने हो । त्यपछि सामुदायिक विद्यालयहरुमा जुन प्रकारले शिक्षाको स्तर माथि उठ्नु पर्ने हो त्यो हुन सकिरहेको छैन त्यसमा पनि सुधार ल्याउने मेरो चुनावी एजेण्डा हो । स्वास्थ्यका कुराहरु त छँदै नै छ । यस्का साथै अरु थुप्रै एजेण्डाहरु छन् जस्लाई हामीले चाँडै नै हाम्रो मेन्युफेक्चर सेड्युल तयार हुनासाथ सार्वजनिक गर्ने छौं ।
स्वतन्त्र उम्मेद्धार घोषणा गर्नकालागि तपाईँलाई कसैले सुझाव दिएको हो या आफ्नै स्वविवेक प्रयोग गर्नु भएको हो ?
हैन, यो नितान्त मैले मेरो स्वविवेक नै प्रयोग गरेको हुुँ । म यहाँको स्थानियको नाताले आजको दिनसम्म मेरो शहरले जुन रुपमा फड्को मार्नु पर्ने हो त्यो रुपमा मार्न नसकेको देखेर यो शहर बनाउनकालागि त मेरो पनि दायित्व हो नि भन्ने कुराको महसुस भएर नै मैले मेरो स्वविवेक प्रयोग गरेको हुँ । व्यापारिक हबको रुपमा मात्र नभई यो २४ जिल्लाकोलागि शिक्षा र स्वास्थ्यको केन्द्र बिन्दु पनि हो । नेपालगञ्जले सबैलाई जन्मायो तर यस्को संरक्षणकालागि कसैको ध्यान गएन । त्यही संरक्षण र प्रवद्र्धनकालागि मेरो उम्मेद्धारी हो ।
दलीय नेताहरुको अगाडी तपाईँ एउटा स्वतन्त्र उम्मेद्धारका रुपमा चुनावी मैदानमा जाँदै हुनु हुन्छ । जीत्छु भन्ने विश्वास कति छ ?
हेर्नुस् जोपनि यदि चुनावी मैदानमा उत्रन्छ भने उस्ले जीत्छु भनेर आफ्नो तयारी गरेको हुन्छ र उस्लाई आफ्नो तयारीमा पुर्ण विश्वास हुन्छ जुन मलाई पनि छ । मेरो कुरा गर्नु हुन्छ भने त झन मसंग चुुनावी घोषणा पत्र, चुुनावी प्रचार प्रसार, जनताको घरदैलोमा जाने कुरा, जनताका गुनासो सुन्ने कुरा आदि इत्यादि सबै कुराको अनुभव योभन्दा अगाडीको निर्वाचनमा मैले बटुली सकेको छुु । त्यसैले मलाई अब निर्वाचनको तयारी कसरी गर्नु पर्छ भन्ने कुराको अनुभव ०७४ सालको निर्वाचनले मलाई गराई सकेको छ ।
पक्कैपनि दलीय नेताहरुको तुलनामा स्वतन्त्रलाई सजिलो छैन किनभने ऊ संग वडा स्तरदेखि केन्द्रसम्मको नेटवर्क हुँदैन । चुुनावी प्रचारप्रसारदेखि लिएर अन्य प्राविधिक कुराहरु सबै आफैले नै गर्नु. पर्ने हुन्छ । जुन कि दलीयहरुलाई त्यो समस्या छैन । तर नेपालगञ्जकोलागि अथवा समग्र देशकोलागि बौद्धिक जमातबाट एउटा राम्रो मान्छेबाट राम्रो सन्देश जान सक्यो भने त्यो नै ठूलो कुरा हो ।






