नेपालगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदको आयु सकिएसँगै सभामुखको पद पनि स्वतः समाप्त भएको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले शुक्रबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले सभामुख अग्नीप्रसाद सापकोटा अहिले पनि पदमा बसिरहनु लज्जाको विषय भएको भन्दै संसदको आयु सकिएसँगै सभामुखको पद पनि स्वतः समाप्त भएको बताएका हुन् ।
उनले भने,‘हाम्रो पद जाने, उहाँको पद नजाने कसरी हुन्छ ?’ म अहिले प्रतिनिधी सभाको सदस्य होइन, अनि उहाँ चाही कसरी सभामुख हुन सक्नुहुन्छ ?’ २०४७ सालको संविधानमा सभामुखको पद रहने ब्यवस्था भएपनि २०७२ को संविधानमा त्यो ब्यवस्था हटिसकेको सचिव भट्टराईले स्पष्ट पारे । ‘२०४७ सालको संविधानमा समानुपातिकको ब्यवस्था थिएन, असोज २ गते प्रतिनिधी सभाको नोमिनेसन भइसक्यो, को–को उम्मेदवार भन्ने कुरा तपाईहरुले लेखिसक्नु भयो ।’
उनले भने,‘उम्मेदवारको नाम फाइनल भएर सावजनिक भइसक्यो, अनि कसरी सभामुख पदमा बस्नु हुन्छ ? यो लाजको विषय हो ।’ सभामुख सापकोटाले आफै संविधान मिच्ने काम गरिरहेको पुर्वमन्त्री समेत रहेका भट्टराईको आरोप छ । पदमा नरहेको ब्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार नरहेको ृनले बताए । अर्को प्रसंगमा नागरिकता विधेयकले मुलुकलाई विभाजित गर्ने काम गरेको पुर्वमन्त्री भट्टराईले बताए ।
‘नागरिकता विधेयकका विषयमा फरक फरक तर्क आइरहेका छन्, यसमा के स्पष्ट हुन आवश्यक छ भने यो विधेयकले मुलुकलाई नै विभाजित गर्ने काम गरिदिएको छ ।’ उनले भने, ‘राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुन्छ, अहिले पनि राष्ट्रपतिले राष्ट्रलाई पहिलो प्राथमिकता दिनु भएको हो ।’ नेता भट्टराईले राष्ट्रपतिबाट राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने काम भएको दाबी गरे ।
‘नागरिकता विधेयकमा राष्ट्रपतिले राष्ट्रिय एकताको प्रर्वद्धन गर्ने काम गरेको बताउँदै विगतमा पनि प्रधानसेनापति प्रकरणमा यसरी नै तत्कालिन राष्ट्रपतिले नेपाली सेनाको अस्तित्व जोगाउने काम गरेको स्मरण गराए । सञ्चारकर्मीको जिज्ञासामा नेता भट्टराईले आगामी मंसिरमा निर्वाचित भएर आउने नयाँ प्रतिनिधी सभाले नागरिकता विधेयकलाई नयाँ ढंगले अगाडी बढाउने बताए ।






