काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको उद्देश्य बिजुली निर्यात गर्ने नभएको बताए । मङ्गलबार सुन्दर यातायात प्रालीले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणको मुख्य उद्देश्य भारतमा बिजुली निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको बताए ।
उनले नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे । घिसिङले बिजुलीको खपत बढाउनका लागि हरेक घरमा खाना पकाउनदेखि गाडीसमेत विद्युतीय ल्याउनुपर्ने घिसिंगको भनाई थियो । निर्देशक घिसिंगले नेपालमा नै बिजुली खपत गर्नसके देशको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्याउने बताए ।
बिजुली निर्यात गरेर भन्दा खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने उनले जिकिर गरे । उनले भने,‘प्राधिकरणको मुख्य उद्देश्य बिजुली निर्यात गर्ने होइन, खपत गर्ने हो । नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्ज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्ने हो । घरमा खाना पकाउनदेखि गाडीसमेत बिजुलीको प्रयोग गर्नुपर्छ । त्यसपछि मात्रै बिजुलीको माग बढ्छ र नेपालको बिजुली नेपालमा नै खपत हुन्छ ।
निर्यात गरेर भन्दा बिजुली खपत गरेर योगदान बढी गर्न सक्छौँ । तर खपत नहुँदा बिजुली खेर फाल्नुभन्दा निर्यात नै गर्ने हो ।’ कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले पछिल्लो एक सय दिनमा सात अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली भारतमा निर्यात गरेको बताए । विश्वमा बिजुली सङ्कट भएर युरोपमा एक युनिट बिजुलीको मूल्य झन्डै एक डलर रहेको बेला नेपालले भारतमा बिजुली निर्यात गर्नु देशको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने उनको भनाई थियो ।
घिसिङले नेपालमा खाना पकाउनदेखि गाडीसमेत बिजुलीको प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गर्नुभयो । उहाँले हरेक काममा बिजुली प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्ब रुपैयाँको विद्युत खपत हुने बताए । कार्यकारी निर्देशक घिसिङले अब विद्युतीय चार्जिङ स्टेशन देशभर बनाउने लहर चलाउनुपर्ने आवश्यकता रहेको बताए । उनले चार्जिङ स्टेशन बनाउनका लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए ।






