काठमाण्डौ । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान बजेट अभावमा रोकिएको छ । वाग्मती प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यसवर्ष पनि रोकिने भएको हो ।
संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले तीन वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका अनुसार प्रदेश सरकारले २०७४, ०७५ मा पाँच लाख तथा त्यसपछिको आर्थिक वर्षमा दुई लाख रुपैयाँ पठाएको थियो ।
वाग्मती प्रदेश सरकारबाट तीन वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको कार्यालयका सूचना अधिकारी गौरव भट्टले बताए । उनका अनुसार कृषि उत्पादनमा समेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान संरक्षण अत्यावश्यक छ ।
२०७८ साल असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो । सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम गरिएको थियो ।
सालकको मासु तथा छाला खपटा तस्करी रोक्न चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको भट्टको भनाइ छ । सालकले १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खानसक्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्छ । यो समाचार उज्यालोमा छ ।






