काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् ।
मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ भने मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् । राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताए ।
राहत वितरणअघि श्रममन्त्री कुँवर र राज्यमन्त्री सोडारीसहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले बाढीबाट प्रभावित चारवटै स्थानको स्थलगत अवलोकन समेत गरेका थिए । आज थोरै मात्रामा राहत उपलब्ध गराएको र भोलिबाट भने पीडित परिवारको लागि आवस्यकता राहत उपलब्ध गराउने उनले जानकारी दिए ।
कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने उनले बताए । शुक्रबार राती आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको थियो ।






