काठमाण्डौ । कोरोनाका कारण तिब्बतमा गरिएको लकडाउनपछि बन्द रसुवागढी र तातोपानी नाकाबाट सामग्रीको आयात सुरु भएको छ । चीनतर्फ रोकिएका व्यापारिक सामग्रीमध्ये पहिलो चरणमा हिजो सात चिनियाँ कन्टेनर रसुवागढीमा आइपुगेको छ । साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट हिजोदेखि व्यापारिक सामग्री आयात सुरु भएको हो ।
कोभिड–१९ नियन्त्रणका लागि भन्दै यो नाका चिनियाँ पक्षले बन्द गरेको थियो । चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका बेला भएको छलफलपछि रसुवागढी नाकाबाट सामग्री आयात हुन थालेको हो । हिजो ७ वटा कन्टेनर नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार केरुङमा रोकिएका कन्टेनर चिनियाँ पक्षले आउँदो असोज ११ गतेसम्म पठाइसक्ने जानकारी दिएको छ ।
दशैँका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएको झण्डै दुई अर्ब ५० करोड बराबरको मालसामान केरूङ क्षेत्रमै रोकिएको थियो । तर ढिलै भए पनि आयात हुँदा ठूलो सहयोग मिलेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । त्यस्तै तातोपानीमा रोकिएका कन्टेनर पनि नेपाल भित्रिरहेका छन् ।
भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ साल मंसिरदेखि रसुवागढी नाकाबाट हुँदै आएको थियो । तर अहिले तातोपानी नाका खुलेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनको सिगात्से, न्यालम, खासा, ल्हासामा रोकिएका दशैँरतिहारका सामान बोकेका कन्टेनर भित्रिरहेका छन् ।
तर साउनको अन्तिममा या भदौको सुरुमै दशैँरतिहारको लागि आवश्यक सामान नेपाल आइसक्नुपर्ने भए पनि चीनले नाका बन्द गर्दा यस वर्ष असोज लाग्ने बेलामा मात्रै सामान आउँदैछन् । अहिले आएका सामान दशैँको लागि काठमाण्डौ नजिकका सहरमा पठाउन सम्भव भए पनि टाढाका सहरमा पठाउन समस्या हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।






