काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भस्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । बिहीवार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओबादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिए पनि आफूलाई भस्म पार्न खोजेको आरोप लगाएका हुन् ।
उनले भने,‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी आन्दोलन बनाऔँ, बलियो कम्युनिस्ट पार्टी बनाऔँ, समाजवादतर्फ अघि बढाऔँ, एकताबद्ध भएर अघि बढाऔँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ प्रचण्डलाई हात मिलाएको मात्रै होइन । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे । म अलि होसियार त थिएँ, नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे ।
म पार्टी एकता जोगाऔँ भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाट नै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु । कस्तोसँग मैले एकता गरेको रहेछु । एकता अभियानका लागि मैले दिएको बहुमत, मैले दिएको वरदान मेरै टाउकोमा हात राखेर मलाई नै भस्मपार्न खोज्ने ? कत्रो धोका, कत्रो बेइमानी ।’ अध्यक्ष ओलीले नेकपा माओबादी केन्द्र पहिल्यै नेकपा एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताए ।
उनले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताए । अध्यक्ष ओलीले गठबन्धन शब्दबाट अहिले नागरिक आजित भएको जिकिर गर्नुभयो । उहाँले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचार गर्ने र भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी र आफ्ना स्वार्थमा कुदेको समूहको संज्ञा दिए । उनले अहिलेको गठबन्धनको हैसियत एमालेसँग सिधा हेर्न सक्ने नरहेको दाबी गर्नै आउँदो चुनावमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।






