काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन् । बाग्मती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आइतबार काठमाण्डौमा भएको युवा उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले यसतो बताएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा लाग्दै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भने,‘अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो । उद्योगमैत्री ऐन कानुन बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।’
अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा देशलाई विकासको गतिमा अघि बढाउन सम्भव भएको बताए । त्यसका लागि युवाको जागरुकता आवश्यक भएको उनले बताए । उनले भने,‘हाम्रो भरोसा तपाईँ युवा नै हो, तपाईँहरू भविष्य होइन वर्तमान हो । अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिक रूपले गतिशील बनाउन सक्नुहुन्छ ।’
नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उनले बताए । उनले प्राकृतिक स्रोत–साधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताए । भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले त्यो अवसर र सम्भावना नगुमाउन अध्यक्ष दाहालले युवालाई आह्वान गरे ।
उनले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्त्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याए । उनले विगतमा खाद्यान्न निर्यात गर्ने हाम्रो देश अहिले आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था भएको बताउँदै जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दिगो र दीर्घकालीन हुने विश्वास व्यक्त गरे ।
दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्त्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए । उनले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गरे । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिए ।
‘काम ढिलो होस् तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न’, अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुई पटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरित गरेका थिए । उनले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न तथा समावेशी संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको बताए ।






