रुपनी जि.एम, बर्दिया । बर्दियाका किसानहरु किराले भटमासको पात खाईदिंदा यतिबेला चिन्तित बनेका छन् । गुलरिया नगरपालिका वार्ड नं. १ र ३ का किसानहरुले फुल खेल्ने बेलाको भटमासको पातलाई किराले खाईदिंदा उनीहरु यो वर्ष भटमास खेतीबाट सोंचे जस्तो आम्दानी नहुने भन्दै चिन्तित बनेका हुन् । उक्त नगरपालिका अन्तर्गत वडा नं. १ को क्षेदापुर र ३ को सिरिकोहियामा किसानहरुले धानबालीको साटो भटमास खेती गरेका छन् । त्यही खेतीमा पनि किरा लागेपछि त्याहाँका किसानहरु चिन्तित बनेका हुन् ।
त्यसक्षेत्रका किसानले कम्तिमा पनि १ विगाहामा भटमास खेती गरेका छन् भने प्रायले २ देखि ३ बिगाहामा उक्त खेती गरेका छन् । त्यसरी भटमास खेती गर्ने मध्यका एक हुन् कृष्ण चन्द्र यादव पनि । उनले यसै वर्ष ३ विगाहामा भटमास खेती गरेका थिए । तर उनको भटमास फुल खेल्न नपाउँदै किराले पातहरु खाई दिएको छ । किराले खाएको र खाँदै गरेको भटमासको बोट देखाउँदै उनले भने,‘हेर्नुस् किराले यसरी खाईदिन्छ पातलाई । यो पात खाएपछि कसरी कोषा लाग्छ ?’ उनले भने,‘किराले पात खाएपछि विषादी छर्किएको छु हेरौं विषादीले कति जोगाउन सक्छ ।’
निरास तर आशाबादी हुँदै उनले आफ्नो भटमास लगाएको बारी देखाए । उनी जस्तै किराको आतंकबाट पिडित रामलाल यादवले पनि २ बिगाहा जमिनमा आफुले लगाएको भटमासको खेती देखाए । मन उदास भएपनि मुहारमा मुस्कान छर्दै रमलाल भन्छन्,‘अब चिन्ता लिएर के गर्ने ? किराले खाएर बचेको हामीले खाने त होला । यसबाट फाईदा होला भनेर लगाएको यस्तै रफ्तारमा किराले पात खाई रह्यो भने त उल्टै घाटा हुन्छ जस्तो छ ।’ उनले भने,‘धान खेतीभन्दा यो खेती गर्न सजिलो भनेर लगाएको बर्बाद हुने भयो ।’
बर्दियाको उक्त क्षेत्रमा भटमास खेती बिगत ३ वर्षदेखि हुँदै आएको छ । शुरुमा उक्त खेती गरेका किसानहरुको देखासिखि गरेर भटमास खेती गरेका कृष्ण चन्द्र यादव र रामलाल यादव जस्तै चिन्तित छन् सुर्य नारायण यादव पनि । उनले त झनै ३ बिगाहामा भटमास खेती गरेका छन् । ठूलो क्षेत्रफल भएको हुनाले र भटमासको बोट अग्लो र बाक्लो भएको हुनाले सर्पको डर हुने बताउँदै सुर्य नारायणले विषादी नछर्किएको बताउँछन्,‘यसको बोट निकै र बाक्लो छ त्यसमाथि पनि यहाँ सार्पहरुको डर छ त्यसैले मैले यस्मा विषादी छर्किन सकिरहेको छैन । जस्ले गर्दा किराको प्रकोप निकै बढि रहेको छ । सबै सत्यानाश पार्ने भयो ।’
उक्त क्षेत्रमा खेती योग्य जमिन मध्ये ४० प्रतिशत क्षेत्रमा त्याहाँका किसानहरुले भटमासको खेती गर्दै आईरहेका छन् । धान र मकै खेतीबाट लगानी अनुसारको उत्पादन नभएपछि त्याहाँका किसानहरु भटमास खेती तर्फ आर्कषित भएका हुन् । थोरै लगानी र मेहनत पनि कम लाग्ने भएको हुनाले उक्त क्षेत्रका किसानहरु भटमास खेती तर्फ आकर्षित भएका हुन् । कोसेबाली अन्तर्गत पर्ने भटमासको बारेमा राम्रो ज्ञान नभएको र देखासिखिमा भटमास खेती गरेको किसान स्वयमले स्वीकार गरेका छन् ।
भटमासलाई किराको प्रकोपबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख राजेन्द्र दराईले किसानलाई खेतबारीमै गएर सम्झाएका छन् । उनले प्रत्येक किसानको बारीमा गएर भटमासको अवस्थालाई अवलोकन गरेका छन् भने किरा नाशकालागि विषादीको प्रयोगका बारेमापनि किसानलाई केही जानकारी गराएका छन् ।
कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख दराईका अनुसार सोयाबिन तेल र उद्योगका लागि आवश्यक पर्ने भटमास भारत सहितका मुलुकबाट आयात गर्नु पर्ने बाध्यकारी अवस्थाको अन्त्याकालागि किसानलाई भटमास खेती तर्फ प्रोत्साहन गरिएको हो । अन्य खेती गर्दा मल र पानी समयमै नपाउने भएको हुनाले त्यसको विकल्पमा किसानहरु पनि यस खेती तर्फ आकर्षित भएको र भटमास खेतीलाई व्यावसायिक रुपमा रोजेको उनी बताउँछन् ।
भटमासको पातमा किरा लाग्दा बर्दियाका किसानहरु चिन्तित
भटमासको पातमा किरा लाग्दा बर्दियाका किसानहरु चिन्तित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






