चितवन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् । नेपाली कांग्रेस चितवनले आज शुक्रबार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन कार्यक्रममा बोल्दै देउवाले भने, खै ? अमेरिकी सेना आयो त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ?
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिद्धयाउन षड्यन्त्र भइरहेको दाबी पनि गरे । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक रहेकोले भ्रमको पछाडि नलाग्न नेता कार्यकर्तालाई उनले आग्रह समेत गरेका थिए । यस्तै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेको बताए । उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको जिकिर गरे ।






