बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका ३८ जना कर्मचारीहरु बेरुजुको सूचीमा परेका छन् । जस मध्य १५ जना पुरुष र २३ जना महिला रहेका छन् । प्रत्येक एक कर्मचारीको नाममा तलब खाएको हिसाबले ३ लाख ५५ हजारको बेरुजु रकम देखिन आएको छ । बेरुजुको सूचीमा परेका ती कर्मचारीहरुको प्रत्येक वर्षको हिसाब गर्दा ९९ लाखको बेरुजु देखिन आएको हो ।
पालिकाको खातामा बेरुजु देखिए लगत्तै अध्यक्ष त्रीपाठीले कर्मचारीहरुलाई आफ्नै कक्षमा बोलाएर बेरुजुको रकम तिर्नु पर्ने बताएको बताए । उता आफुहरुलाई थाहै नदिएर बेरुजुमा पारेको भन्दै कर्मचारीहरुले भाद्र १५ गते आन्दोलन गर्दै पालिकाको गेटमा तालाबन्दी गरेका थिए । ‘हामी माथि यति ठूलो रकमको बेरुजु कसरी हुन सक्छ ? कि त हामीलाई समयमै जानकारी गराएको भए हुने थियो । एक्कासी हामी माथि लगाईएको बेरुजुको यो आरोप हामीलाई कदाचित स्वीकार्य हुनेछैन ।’ पालिकाका कर्मचारी विष्णु घिमिरेले बताए ।
उनका अनुसार बेरुजुको रकम अध्यक्ष त्रीपाठीले आफै तिर्नु पर्ने बताउँछन् भने भर्खरै सरुवा भएका गएका पुर्व प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले भने कार्यालयको बेरुजु भएको हुनाले सचिव स्तरीय निर्णयबाट उक्त बेरुजु रकम मिलाउन सकिने बताएका थिए । सब इन्जिनियर घिमिरे भन्छन्,‘अध्यक्ष र हाकिममको कुरै फरक छ । अध्यक्ष भन्नुहुन्छ बेरुजुको रकम कर्मचारी आफैले तिर्नु पर्छ । तर भाद्र १६ गते हाकिम सर सरुवा भएर जाने बेला यो कार्यालयको बेरुजु रकम हो यस्लाई सचिव स्तरिय निर्णय गरेर मिलाउन सकिन्छ आतिनु पर्दैन ।’ उनले भने,‘यस्तो दोधारे कुरालाई हामीले कसरी पत्याउने ? कार्यालयको बेरुजु कर्मचारीको नाममा पारेर हामीलाई हटाउन त मिल्दैन नि ।’
उता पालिका अध्यक्ष त्रीपाठीले हिमालय न्यजू हबसंग कुरा गर्दै एउटै कर्मचारीको नाममा १०÷१० लाखको बेरुजु देखिएको हुनाले बेरुजु रकम कर्मचारी आफैले भुक्तान गर्नु पर्ने र त्यस्ता कर्मचारीलाई पालिकाले जागिर खुवाएर राख्न नसकिने बताए । उनले भने,‘एक जना कर्मचारीको नाममा १० लाखको बेरुजु देखिएको छ । के यो सानो रकम हो ? यो रकम उहाँहरु आफैले तिर्नु पर्छ र उहाँहरुको नाममा बेरुजु देखिएको हुनाले अब उप्रान्त पालिकाले उहाँहरुलाई कर्मचारी बनाएर जागिर खुवाउँदै राख्न भने सक्दैन ।’
कार्यालयको बेरुजु कर्मचारीको नाममा पारेर राजनीतिकरण गर्नु भयो भन्ने आरोप तपाईँ माथि कर्मचारीहरुले लगाएका छन् भन्ने प्रश्नमा उनी भन्छन्,‘त्यो सबै गलत हो । कार्यालयको बेरुजु भएको भए कार्यालय आफैले बेहोथ्र्यो । यत्ति ठूलो रकमको बेरुजु कर्मचारीको नाममा देखिएको हुनाले यो उहाँहरु आफैले तिर्नु पर्ने हुन्छ । हिसाबमा प्रष्ट देखिएको बेरुजु रकममा केको राजनीति गर्नु ?’ उता बेरुजुको लिस्टमा परेका कर्मचारीहरु भने नियमित रुपमा पालिका गएर आफ्नो जिम्मेवारी सम्हालि रहेका छन् । यस विषयमा पालिका अध्यक्ष भन्छन्,‘हामीले बोलाएका छैनौं उहाँहरु आफै आएर स्वईच्छाल काम गर्नु हुन्छ भने पालिका जवाफदेही हुनेछैन ।’






