काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ । अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा आज बुधवार पार्टीभित्रको पदाधिकारीको पद विभाजनलाई लिएर प्रचण्ड र शर्माबीच घोचपेच भएको हो । अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोजेका थिए ।
तर उपमहासचिव जनार्दन शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि पहिले जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोलेका थिए । सम्बोधनका क्रममा जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्ने बताउनुभयो ।‘नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडीले हुँदैन, लाइनले हुँदैन’, शर्माले भने ।
तर प्रचण्डले भने जनार्दन शर्मालाई आफैँले हुर्काएको र रक्षा गरेको बताए । ‘जनार्दन जीले जाँदा जाँदै नीति र नेतृत्वको रक्षाको कुरा, म तपाईँहरूलाई भन्न चाहन्छु– जनार्दनलाई हुर्काउन र रक्षा गर्न पनि प्रचण्डको मुख्य भूमिका छ । उनको रक्षा र विकास गर्ने कुरामा मेरो भूमिका छ । मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधान सभाको पनि नेतृत्व गरेँ, गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि धेरै चिज भएकै छ, अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन् भन्ने हो । उनीहरूले पार्टीलाई एकताबद्ध गराउन, क्रान्तिकारीलाई एकै ठाउँमा ल्याउन र हाम्रो विरासत जोगाइराखुन् ।’
कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हुनुपर्ने बताए । सडकको हिरो युवा विद्यार्थी भएको र विद्यार्थी सडकमा नआएसम्म देशमा परिवर्तन नहुने भएकाले टोल–टोलमा अभियान चलाउन पनि प्रचण्डले निर्देशन दिए ।
आफू देशव्यापी प्रशिक्षणमा जाँदा पनि अहिलेको चुनावी प्रणालीमाथि प्रश्न गरिरहेको भन्दै प्रचण्डले अहिलेको महँगो चुनाव लड्न माओवादीलाई समस्या भइरहेको बताए । प्रतिगामीहरूले माओबादीले लडेर ल्याएको संविधान र नागरिकका अधिकार खोस्ने प्रयास गरिरहेको भन्दै प्रचण्डले विरोधीविरुद्ध एकजुट हुन पनि आह्वान गरे ।






