नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले आफु निर्वाचित भएको एक सय दिनको कार्य प्रगति विवरण सार्बजनिक गरेका छन् । सोमबार आफ्नै कार्यकक्षमा उनले आफु निर्वाचित भएर काम गर्न शुरु गरेको सय दिन पुरा भएको अवसरमा आफ्नो नेतृत्वमा गरिएको रचनात्मक कामलाई १६ बुँदामा कार्य प्रगति विवरण तयार गरेर पत्रकार सम्मेलन मार्फत बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।
उनीद्धारा सार्वजनिक गरिको उक्त कार्यपत्रमा विशेष गरेर शिक्षा, स्वास्थ्य, वृक्षारोपन, सरसफाई र विविध रहेका छन् । वडाअध्यक्ष पुनले आफ्नो नेतृत्वमा नेपालगन्ज ४ मा रहेको दुई वटा सामुदायिक बिद्यालय (नेपालगन्ज कन्या मावि), अनाथालय गौसिया माध्यामिक बिद्यालयमा पाँच दिने बिद्यार्थी भर्ना विशेष अभियान सञ्चालन गरिएको, नेपालगन्ज कन्या माविमा यसवर्षदेखी कक्षा ११ (कर्मस र शिक्षा) संकायको पढाई सुरु गरिएको साथै सिलाई कटाई प्रशिक्षकको ब्यवस्था शुरु गरिएको बताए ।
वडाअध्यक्ष पुनले आफ्नो नेतृत्वमा ब्लड प्रेसर, सुगर र मुटु रोगीहरुको लागि बसपार्क क्षेत्रमा निःशुल्क औषधी सहितको एक दिने सचेतना मुलक कार्यक्रम संगै कान्ति आरोग्य अस्पतालसंगको सहकार्यमा १५ वर्ष मुनिका बालबालिकाहरुको लागि निशुल्क औषधी सहित १ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । त्यसैगरी नेपालगञ्जको बसपार्क क्षेत्रमा डेंगु ज्वरोलाई निमुल पार्न र रोग फैलनबाट रोक्न एक दिने चेतना मुलक कार्यक्रमको आयोजना गरिएको पनि सोही कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ ।
नेपालगञ्ज क्षेत्रलाई हराभरा बनाउनको लागि वडाकै आयोजनामा र जिल्ला वन कार्यालयको सहयोगमा हजार जना व्यक्तिलाई दुई हजार जति बिरुवा हस्तारण गरिएको पनि वडाध्यक्ष पुनले जानकारी दिए । त्यसैगरी इन्जिनियरिंग एसोसियसन दिवसको उपलक्ष्यमा एसोसियसनकै सहकार्यमा नेपालगञ्ज बसपार्कमा बृक्षरोपण गरिएको पनि उक्त कार्यप्रगति विवरणमा बताईएको छ । वडालाई डुबानबाट जोगाउनका लागि ठूला तथा साना नालाहरुलाई सरसफाई गर्न विशेष पहल गरिएको वडाध्यक्ष पुनले जानकारी दिए ।
वडाध्यक्ष पुनद्धारा सार्वजनिक गरिएको उक्त कार्यप्रगति विवरणमा नेपालगञ्जको न्युरोड वरिपरि भईरहने उच्छृंखल र बिकृतिजन्य गतिबिधिहरुलाई निर्मुल पार्नका लागि वडा प्रहरी र टोल विकास समितिसंग समन्वय गरी विशेष गस्ति अभियान संचालन गरिएको कुरापनि उल्लेख गरिएको छ । सदभावको शहर भनेर चिनिएको शहर नेपालगञ्जको उक्त वडामा जनता बीचको सदभाव बढाउन विभिन्न चाडपर्व (बकरा ईद, मोहरम, श्री कृष्ण जन्माष्टमी, गणेश चतुर्थी) आदि जस्ता कार्यक्रमहरुमा वडाको आयोजनामा पानी र फलफुल वितरण गरिएको वडाध्यक्ष पुनले जानकारी दिए ।
पत्रकारहरुद्धारा सोधिएको लागुऔषध सम्बन्धि विषयमा उनले वडा नं. ४ र अन्य वडाहरुमा कुलतमा फसेका युवाहरुलाई चेतना मुलक तलिमको आयोजना गर्ने र युवा सोरोजगार कार्यक्रम अन्तर्गत २ लाख रकम उपलब्ध गराएर कुुलतबाट जोगाउने अभियान सञ्चालन गर्ने कार्ययोजना अनुसारा आगामी दिनमा अगाडी बढ्ने वडाध्यक्ष पुनले बताए । साथै उनले यसै वर्ष आफ्नो वडामा महिला उद्यमीहरुलाई उद्याममा अगाडी बढाउनको लागि गार्मेन्ट उद्योग पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलन मार्फत नै उनले उक्त वडामा प्रत्येक शनिबार सरसफाई कार्यक्रम गरिंदै आएको बताउँदै उक्त सरसफाई कार्यक्रममा २५ देखि ११० जना सम्मको समूहमा वडा बासीहरु स्वस्फुर्त रुपले सहभागी हुँदै वडाद्धारा आयोजित विभिन्न कार्यक्रमहरुमा श्रमदान गर्ने गरेको पनि जानकारी गराए । उनले आफुु निर्वाचित भएदेखि नै उक्त वडाका वडाबासीहरुले आफुलाई पुर्ण रुपमा सहयोग गरेको बताउँदै आभार प्रकट गर्नुका साथै बाँकी रहेको विकास निर्माणका कामलाई चाँडै नै तिव्रता दिने बताए । नेपालगञ्ज उपमहानगरपालिकामा रहेको २३ वटा वडा कार्यालय अन्तरगत उनी पहिलो वडाध्यक्ष हुन् जस्ले निर्वाचित भएर काम गरेको सय दिनको प्रगति विवरण प्रस्तुत गरेका थिए ।








