बाँके । आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आकांक्षीहरुको सूचीबाट नेकपा एमालेले बाँकेका उम्मेदवार छनोट प्रक्रिया टुंग्याउने भएको छ । आइतबार क्षेत्रीय कमिटीबाट प्रतिनिधि सभाका लागि तीन वटै निर्वाचन क्षेत्रबाट आकांक्षीहरुको नाम सिफारिस गरेको गरिएपछि आज (सोमबार) बस्ने जिल्ला कमिटीले टुग्याउँने भएको हो ।
एमाले नेताका अनुसार, बहालवाला सांसद पराजित वा स्थानीय तहमा टिकट पाएकाहरुलाई समानुपातिकमा सिफारिस नगर्न एमालेले अन्तर पार्टी निर्देशन गरेको छ । ‘तर, रहर गर्नेहरु त्यस्तै पनि छन्,’ एक एमाले नेताले भने । ‘शनिबार र आइतबार छनोट सिफारिस गरिएका सूचीलाई राय सहित अब बस्ने जिल्ला कमिटीको बैठकले प्रदेश कमिटीलाई ती नामहरु सिफारिश गरिनेछ,’ एमाले बाँकेका सचिव रत्न खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘सबै क्षेत्रबाट नाम सिफारिस भएर आइसकेको छ ।’
सचिव खत्रीका अनुसार, आएका नामहरुलाई थपघट गर्ने अधिकार जिल्ला कमिटीलाई छैन । ‘जित्ने आधारका कुरा चाहिं राय पठाइनेछ,’ उनले भने । निर्वाचन क्षेत्र अनुसारका पार्टी कमिटी तथा त्यसअन्तर्गतका प्रदेशबाट प्रत्यक्षतर्फका आकांक्षीका नाम सिफारिस गरिएका हुन् । समानुपातिक नाम भने जिल्ला पार्टी कमिटीलेनै छनोट गर्ने व्यवस्था एमालेमा छ ।
‘आकांक्षीका दावीहरु आएका छन्, ती सबैको आवश्यक छलफल जिल्ला कमिटीमा हुन्छ,’ एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘आधारसहित आएका दावीहरुमाथि छलफल गरेर नाम सिफारिस गरिनेछ ।’ एमालेमा बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि जिल्ला इन्चार्ज सुर्य ढकालसहित ४ जना आकांक्षीको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको जनाएको छ ।
सिफारिस हुनेमा पूर्व सांसद देवराज भार, प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा र क्षेत्रीय अध्यक्ष बलराम भट्टराईको नाम छ । क्षेत्र नम्बर २ बाट पार्टी केन्द्रीय सदस्य मोहम्मद हारुन, शिव डोटेल, रबिन्द्र लम्साल, अक्रम अन्सारी, रचना श्रेष्ठ, पार्वती बोहरा गुरुङ र सरस्वती शर्माको नाम सिफारिस भएको एमालेका पार्टी क्षेत्रीय इन्चार्ज अशोक कर्माचार्यले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको पार्टी क्षेत्रीय संयोजक भिम ओलीले जानकारी दिएका छन् । यसअघि, आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले देशव्यापी रुपमा शनिबार प्रदेश कमिटि बैठकले इच्छाएको उम्मेदवारहरुको सूचि तयार गरी क्षेत्रलाई पठाएको थियो । आइतवार क्षेत्रले देशैभरिबाट एकसाथ जिल्लामा पठाएको हो ।
प्रदेश सभाका लागि क्षेत्र नम्बर १ ‘क’ बाट अधिवक्ता रामकुमार दीक्षित, परशुराम थारु ९विराज०, तिर्थ डाँगी, सोहनलाल यादव, विक्रम यादव र पुमा डाँगीको नाम सिफारिस गरिएको छ । ‘ख’ बाट दुर्गा प्रसाद चौधरी, नरेन्द्र प्रसाद शर्मा, अनिता पौडेल, विष्णु वेल्सासे, विजुला अधिकारी, कुश्माखर बस्याल र सुर्य रोकायको नाम सिफारिसमा परेको छ ।
त्यस्तै, क्षेत्र नं. २ मा ‘क’ बाट बिक्रम यादव, राजेन्द्र कंडेल र विष्णु भण्डारीको नाम छ । ‘ख’ बाट निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ, दत्त प्रसाद आचार्य, हलिम शाह, कैलास यादव, हकिम हलवाई, मनोज बर्मा र मिना ढकालको सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट मानबहादुर रुचाल (ठकुरी), चन्द्र चौधरी, करिम खाँ, इन्द्र थापा, प्रेम सुवेदी, विश्वकान्त गौतम र पुनित शाहको नाम सिफारिस गरिएको छ ।
‘ख’ बाट पदम धिताल, डिल्ली बिसी, भिम ओली र मिरा खनालको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । प्रदेशका लागि पनि समानुपातिक आकांक्षीको सूची बनाउने जिम्मा जिल्लाकै रहेको एमाले अध्यक्ष कक्षपतिले जानकारी दिए ।






