काठमाण्डौ – नेकपा एमालेका नेता घनश्याम भुसालले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावअघि नै वाममोर्चा बनाउन नसक्नु देशका लागि ठूलो दुर्भाग्य भएको बताए । आइतबार काठमाण्डौमा आयोजित ‘समाजबादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले सो कुरा बताएका हुन् ।
कम्युनिस्टहरू मोर्चाबन्दी गरेर अघि नबढ्ने हो भने आउँदो तीन चार वर्षभित्रै देशमा ठूलो राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिस्टहरूले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै नेतुत्वलाई घुमाउरो शैलीमा चेतावनीसमेत दिएका थिए । अहिले देखा परेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरूभित्रै रहेको उकुसमुकुसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराए ।
‘राजनीतिप्रति वितृष्णा, सत्ताका प्रति वितृष्णा । राज्यप्रतिको घृणा सुरु भएको छ, यो चानेचुने कुरा छैन । राजनीतिक पार्टीहरूभित्र रहेको उकुसमुकुसलाई कसैले नजरअन्दाज नगरौँ । म आउँदो तीनरचार वर्षभित्रमा एउटा ठूलो उथलपुथल देख्छु । त्यसले कम्तीमा आजको राजनीतिको नीतिहीनता, विचारहीनता, मनपरीतन्त्र कम्तीमा यति चाहिँ लैजान्छ ।
तर राजनीतिले त्योभन्दा धेरै कुरा हामीबाट लिन्छ । आज बाँचेका, हामी राजनीति गरेका, सत्तामा रहेकाहरूले यसको जवाफ दिनुपर्ने हुनेछ । हामीसँग राजनीतिले ठूलो मूल्य लिँदैछ । यो चुनावभन्दा अगाडि नै हामीले वाममोर्चा बनाउन सक्नुपर्थ्यो । बनाउन नसक्नु दुर्भाग्य हो ।’ उनले भने । नेता भुसालले तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायतका नेताहरुले दुनियाँ सामु नेपालको बेइज्जत गरेको जिकिरसमेत गरे ।
उहाँले मञ्चमा रहनुभएका प्रचण्डलाई क्रमभङ्ग गरेर भए पनि कम्युनिस्टहरूबीच एकता गर्न ढिलाइ नगर्न आग्रहसमेत गरेका थिए । ‘कमरेड प्रचण्ड र अरू नेताहरूले त्यो एकता नभत्काएको भए, संसद् विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जत नगरेको भए यस्ता सङ्कट थाम्ने नेपाली राजनीति बनेको थियो ।’ उनले भने । नेता भुसालले संसद् विघटन गरेर सुरु भएको नेपालको राजनीतिक सङ्कट नेताहरू नमिल्ने हो भने झन् गहिरिएर जानेसमेत बताए ।






