काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव लगत्तै आफू सडक सङ्घर्षमा जाने घोषणा गरेका छन् । आइतबार काठमाण्डौमा आयोजित ुसमाजवादको नेपाली मार्गचित्रु विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि चुनाव लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने घोषणा गरेका हुन् ।
निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै देशलाई रूपान्तरण गर्न आफू चुनावपछि लगत्तै सडक सङ्घर्षमा जाने उनको भनाइ थियो । उनले भने,‘अहिलेको निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी, नेताहरूलाई पनि भ्रष्टीकरणको बाटोमा पुर्याउँछ । देशलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । हामी प्रदेश र सङ्घको चुनावको सङ्घारमा छौँ । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । सङ्घीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ ।
विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने क्रम चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । सडकबाट मात्रै समाजवादको परिकल्पना संविधानमा गर्न खोजेको हो । मैले कम्युनिस्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु । त्यसलाई प्राप्त गर्न अब एकचोटि फेरी र यो मेसिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।’
अध्यक्ष प्रचण्डले समाजबादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओबादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि बताए । उनले एक वर्षभित्र देशमा आफू नेतृत्वको सडक सङ्घर्ष हुने र त्यसले देशमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याइ राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसङ्गतिको अन्त्य हुने दाबीसमेत गरे । त्यसका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्ने उनले बताए ।






