काठमाण्डौ । स्वास्थ्य बीमा सुदृढीकरण निर्देशक समितिको दोस्रो बैठक बसेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितिको दोस्रो बैठक शुक्रवार बसेको हो । बैठकमा स्वास्थ्य बीमाका प्रशासनिक सुधार, व्यवस्थापकीय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए ।
बैठकमा स्वास्थ्य बीमामा भएको बेथीतिका विषयमा पनि औँल्याइएको थियो । यस्तै स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान स्थितिको आँकलन गरिएको थियो । सो क्रममा राज्यमन्त्री केसीले स्वास्थ्य बीमालाई आम जनतासँग जोड्नुपर्ने र यो कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले भने, ‘केहिदिन प्रतिवेदन बाहिर ल्याउँछौं । बीमा कार्यक्रमलाई आम बीमीतसँग जोड्ने र जनजनको कार्यक्रम बनाउन म केन्द्रित छुँ ।’
स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा स्वास्थ्य बीमा सुदृढीकरण निर्देशक समिति गठन भएको थियो । गत साउन २६ मा स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य बीमा सुदृढीकरण निर्देशक समिति गठन गरेको थियो ।
समितिलाई स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको थियो ।






