नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले नेपालको अर्थ नीति व्यावसायिहरुको हीतमा नभएको बताए । बिहीबार व्यवसायिक वातावरण सर्वेक्षण को तथ्याङक विश्लेषणको निदान कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख विष्टले नेपालको अर्थ नीति नै स्पष्ट नभएको कारण व्यावसायिहरुलाई निकै मर्का परेको बताउँदै उक्त कुरा बताएका हुन् । उनले अर्थ नीति नै व्यावसायिहरुको हीतमा नभएको बताउँदै नेपालको अर्थ नीति परिर्वतन हुन आवश्यक रहेको औंल्याए ।
आफु नगर प्रमुख भएको नाताले यस क्षेत्रका व्यावसायीहरुलाई माथि उकास्नकालागी उनीहरुको अवस्था, समस्या र समाधानका उपायमा लागी पर्ने पनि उनले बताए । प्रमुख विष्टले भने,‘यस क्षेत्रको आर्थिक गतिबिधीलाई जबसम्म चलायमान गर्न सकिंदैन तबसम्म नेपालगञ्ज उपमहानगर पालिकाले उन्नति गर्न सक्दैन । यहाँ सानादेखि ठूला व्यावसायिहरु रहेका छन् । विशेषगरेर महिला उद्यमीहरु पनि यस पालिका भित्र सक्रिय छन् । तर उनीहरु सफल व्यासायको रुपमा माथि उकासिन सकि रहेका छैनन् । यसकालागी नेपालगञ्जलाई कसरी अभिबृद्धि गर्न सकिन्छ भन्ने विषयमा हामी सधैं लाग्ने छौं ।’
नेपालगञ्ज एउटा सम्भावना बोकेको शहर भएतापनि यहाँ व्यावसायीहरुकालागी उक्त सम्भावना त्यति प्रभावकारी हुन नसकेको कुरा औंल्याउँदै आर्थिक पक्षलाई चलायमान गर्न नेपालगञ्जका व्यापारिहरुलाई प्रमुख विष्टले सुझाव दिए । खुला सिमा, सहजै जमिन उपलब्ध, विमान स्थल र सबैलाई पायक पर्ने हिसाबले पनि यस क्षेत्र व्यापारि र व्यावसायहरुकालागी सहज भएको हुनाले जति सक्दो आफ्ना आर्थिक क्रियाकलापलाई चलायमान गर्न उनले व्यापारिहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा सहभागी सोही पालिकाका उप प्रमुख कमरुद्यिन खाँले नेपालले छिमेकी दुई देश भारत र चाईनाको अर्थ नीतिलाई अबलम्बन गर्न आवश्यक रहेको बताए । दुई ठूला विकसित देशको बीचमा रहेको नेपालले यी दुवै देशको अर्थ नीतिलाई अबलम्बन गर्न आवश्यक रहेको कुरालाई औंल्याउँदै उप प्रमुख खाँले चाईना र भारतको नीतिलाई व्यापारि समक्ष स्पष्ट पारेका थिए । उनले चाईनाले नेपालका व्यापारिबाट पैसा लिने र आफ्नो सामान नेपाल सहजै भित्र्याउने नीति अबलम्बन गरेको छ भने भारतले नेपालका व्यापारिबाट एक रुपैंया नलिएर करोडौंको समान नेपाल भित्र्याउने नीति अबलम्न गरेको बताए ।
छिमेकी देशका यस्ता नीतिले व्यापारलाई माथि उठाएको भन्दै उपप्रमुख खाँले नेपालले आफै उत्पादन गरेको समान निर्यात गर्दा अनेकौं नियमहरु लगाई दिएको हुनाले नेपाली व्यापारिहरु मर्कामा पर्ने गरेको स्पष्ट पारे । उनले भने,‘चाईनाले नेपाललाई सस्तोमा सामान बेच्ने गरेको छ भने भारतले पैसाको कुनै हिसाब नै नगरेर करोडौंको सामान नेपाल भित्र्याउने गर्दछ । तर नेपालको सामान निर्यातकालागी आफ्नै देश भित्र अनेकौं सिमा पार गर्नु पर्ने अवस्था छ । यस्तोमा कसरी नेपाली व्यावसाय फस्टाउन सक्छ ? र नेपालको अर्थ नीति यहाँका व्यापारिको हीतमा हुन सक्छ ? यो विषयमा नेपाल सरकारको ध्यान जान निकै नै आवश्यक छ ।’
कार्यक्रममा सहभागी नेपालगञ्ज उपमहानगर पालिकाका घरेलु महासंघ अध्यक्ष डिला शाहले राजस्व संकलनको नाममा नगरपालिकाद्धारा लिईने अग्रमी भाडाको व्यवस्थालाई अन्त्य गरिनु पर्ने बताईन् । उनका अनुसार पालिकाद्धारा उद्योग दर्ता गर्न गएका व्यावसायिहरुबाट लिने गरिएको अग्रीम घर भाडाले व्यावसायीहरुलाई शुरुमै मर्का परेको छ । व्यापार शुरु गर्नु अघि नै व्यापारिहरुबाट घर भाडा असुल गर्ने नगर पालिकाको यो नियमले उनीहरुमा व्यापार व्यावसाय गर्नकोलागी नैराश्यता उत्पन्न हुने हुँदा उक्त व्यवस्थाप्रति नगर पालिकाले ध्यान दिन आवश्यक रहेको बताईन् ।
केही वर्ष पहिला ४ वर्षकै घर भाडा असुल्ने पालिकाले अहिले १ वर्षको नियम बनाएता पनि यो १ वर्ष पनि व्यावसाय गर्ने व्यक्तिकालागी भारी भएको अध्यक्ष शाहको भनाई थियो । यो विषयमा समयमै नगर पालिकाको गम्भिर ध्यानाकर्षण हुन नसके नयाँ उद्योगीहरुमा निरासा उत्पन्न हुँदै जाने र व्यापार व्यावसायबाट पछि हट्ने उनको जिकिर थियो । यस्तो व्यवस्थाले विशेष गरेर महिला उद्यमीहरु मर्कामा परेको उनले बताईन् । साथै उनले नेपालगञ्जमा व्यावसायि र व्यापारलाई माथि उकास्नकोलागी नगर पालिकाको महत्वपुर्ण भूमिका रहेको बताउँदै व्यावसायिको हीतमा पालिका प्रमुखलाई उभिन आग्रह समेत गरिन् । कार्यक्रममा नेपालगंज उद्धोग वाणिज्य संघ, सहकारी संघ, घरेलु महासंघ, पेशागत संघ लगायतको उपस्थिती रहेको थियो ।






