नेपालगन्ज । प्लाष्टिक सर्जन डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । डा.कर्ण पेशाले चिकित्सक भएतापनि उनले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् । उनी नेपालगन्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा डा. कर्णले पत्रकार सम्मलेन मार्फत बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका १ देखि १२, १४ र १५ वडा समेटिएको बाँके क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको बताए ।
बाचुञ्जेल मात्र नभई इतिहास रचेर जाने गरि कामको प्रतिफल देखाएर जाने सोच रहेको हुनाले मेरो स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई थियो । डा. कर्णले २०७४ मा पनि विवेकशील साझा पार्टीबाट यही क्षेत्रमा चुनाव लडेका थिए । यसअघि बाँके क्षेत्र नं. १ मा संघिय र प्रदेशमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।






