काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाण्डौमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे ।
विसं २०७२ मा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उनले बताए । “नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने थियो तर विसं २०७२ मा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन ।
अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो”, गृहमन्त्री खाणले भने । उनले विधेयकलाई सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याए । रासस






