नेपालगन्ज । नेपालमा कोरोनाको चौथो लहर शुरु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्न थालेको छ । कोरोनाको संक्रमणबाट दैनिक एक–दुई जनाको मृत्यु भई रहेको छ भने गत २६ गते एकैदिन पाँच जनाले ज्यान गुमाएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार श्रावण महिना यता ३६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश खोप नलगाएका र दीर्घ रोगी रहेका मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । डा. अधिकारीका अनुसार संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ । खोप नलगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकता अनुसार कोरोनाविरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले अपिल समेत गरेको छ ।
कोरोना संक्रमित भएका ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन । तर, खोप नलगाएका मानिस गम्भीर बिरामी पर्ने वा मृत्यु हुने सम्भावना खोप लगाएका मानिसको तुलनामा १० गुणा बढी हुने मन्त्रालयको भनाई छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिन नदिन खोप लगाउने, नाक मुख छोपिने गरी मास्क लगाउने,
भौतिक दुरी कायम गर्ने, खोक्दा वा हाच्छ्यूँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्ने, झ्याल सधैं खुल्ला राख्ने, बेला–बेला साबुन पानीले मिचिमिचि हात धुन मन्त्रालयले अपिल गरेको छ । नेपालमा हालसम्म ११ हजार ९८८ जना जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन् ।






