बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ । सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनसंगै उनको जुम्ल्याहा शिशुको पनि मृत्यु भएको हो । मृतक खातुन आईतबार भेरी अस्पताल गएकी थिईन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँका अनुसार प्रेसर तल माथि भएको हुनाले उनको मुटुमा रगतको मात्रा कमी भएको कारणले नाधिया खातुनसंगै उनको जुम्ल्याहा शिशुको पनि मृत्यु भएको हो ।
‘मृतक खातुन अस्ति आईतबार अस्पतलामा आउनु भएको थियो । हामीले उहाँकोको प्रेसर जाँच गर्यौं । उहाँको प्रसेर जाँच गर्दा कहिले १९० माथि हुन्थ्यो भने तल १२० हुन्थ्यो त कहिले १८० माथि हुँदा ११० तल हुन्थ्यो । उहाँको ब्लड प्रेसरमा स्थिरता नभएको कारणले हामीले उहाँको मुटुलाई जाँच गर्यौं । मुटुमा रगतको मात्रा आवश्यकता भन्दा निकै नै कम थियो ।’ डाक्टर चापागाईले भने,‘त्यसपछि हामीले मुटु सम्बन्धि डक्टरलाई नै उपचारमा राखेर उहाँको उपचार शुरु गर्यौं । उहाँलाई सास फेर्ने निकै नै गाह्रो भई रहेको थियो । तरपनि हामी सबै उहाँको सुरक्षित डेलेभरी गर्ने प्रयासमा थियौं ।’ उनले भने ।
डाक्टर र सम्बन्धित विज्ञहरुको प्रयासका बाबजुद पनि खातुनलाई बचाउन नसकेकोप्रति डाक्टर चापाईगाई दुःख व्यक्त गर्दछन् । उनी भन्छन्,‘हामीले धेरै प्रयास गयौं आमा र बच्चा दुबैलाई बचाउन तर सकेनौं । यसमा म लगाएत मेरो पुरै टिम नै दुखी छ । तर डाक्टरको लापरवाहीकै कारण खातुन र उनको जुम्ल्याहा बच्चाको ज्यान गएको हो भन्ने जुन आरोप मृतकको परिवार र आफन्तले लगाउनु भएको छ त्यो हामी मान्दैनौं । उनलाई सुरक्षित डेलिभरी गराउनकालागी हामीबाट कुनैपनि प्रकारको लापरवाही भएको छैन ।’
चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । आमाको मृत्यु पश्चात पेट भित्रै रहेको जुम्ल्याहा बच्चालाई निकाल्न परिवारकै सल्लाह र रोहवरमा शल्यक्रिया गरेको जुम्ल्याहा बच्चा निकालिएको थियो । आमाको मृत्युसंगै शिशुको पनि पेट भित्र नै मृत्यु भएको डाक्टर चापागाईँको भनाइ छ । यता मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले खातुन र जुम्ल्याहा बच्चाको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन् ।






