काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको बताएका छन् । पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका थिए । दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको जिकिर समेत गरे । अध्यक्ष ओलीले यस्ता भँडुवाहरुदेखि सतर्क रहन सबैलाई आग्रह पनि गरेका छन् ।






