दाङ । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनपछि प्रतिगामी शक्तिहरू समाप्त हुने बताएका छन् । दाङको घोराही उपमहानगरपालिका १२ मा स्थानीयसँग भएका भेटघाट कार्यक्रममा बोल्दै महराले उक्त कुरा बताएका हुन् ।
पूर्वसभामुख समेत रहेका महराले निर्वाचनले अग्रगमनका पक्षधरहरूलाई अनुमोदित गराउने निश्चित भएको बताए । ‘नेपाली काङ्ग्रेस, माओवादी, समाजवादी सहितको दलहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एक ठाउँमा उभिएका छन्’ उनले भने, ‘एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरू यो परिवर्तनलाई उल्ट्याउने गरि एक भएका छन् ।’
महराले चुनावसम्म गठबन्धनको औचित्य रहने दाबी गरे । ‘मुलुकको परिवर्तन र मुलुकमा जटिल परिस्थिति आउँदा नेपाली काङ्ग्रेससँग हाम्रो सहकार्य हुँदै आएको छ, अहिले पनि संविधान मासेर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगाएका सबै उपलब्धि मास्ने उद्धेश्यले केपी ओलीले चालेको प्रतिगामी कदमलाई सच्याउन काङ्ग्रेससँग गठबन्धन भएको हो’ महराले भने, ‘आगामी निर्वाचन अग्रगामी शक्ति र प्रतिगामी शक्तिहरूबीच जनमत मार्फत भीषण लडाइँ हुन थालेको छ ।’ उनले भने ।
’हिजो २०४६ सालमा बहुदल स्थापना हुँदा, २०६१ मा राजा ज्ञानेन्द्रले कु गरेपछि २०६२–०६३ सालको जनआन्दोलन र संविधान निर्माणका क्रममा नेपालका कम्युनिष्ट र काङ्ग्रेसबीच सहकार्य भएको उनले उल्लेख गरे । उपाध्यक्ष महराले निर्वाचनमा लोकतन्त्र र परिवर्तनको रक्षामा लाग्ने दलहरू जनअनुमोदित हुने बताए ।






