कञ्चनपुर । कैलालीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठकाअनुसार अल्कोहोलिक हेपाटाईटिसका बिरामी रहेका उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएपछि बिहीबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले जानकारी दिए ।
नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । तर ती पुरुषमा नयाँ वा पुरानै कस्तो खालको संक्रमण हो भन्ने कुरा खुल्न नसकेको सूचना अधिकारी श्रेष्ठले बताए ।






