काठमाण्डौ । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् । आज सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगर सभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए ।
उनले प्रहरीको शासन चलाउन खोजेको हो ? भनेर गृहमन्त्रीलाई प्रश्नसमेत गरे । गृहमन्त्रीले आफ्नो भाईमेयर भएको तिलोत्तमा नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोप सांसद भट्टराईको छ । वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न उनले माग गरे । जनप्रतिनिधिलाई सार्वजनिक ठाउँमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए ।
यस घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनुपर्ने सांसद भट्टराईले माग गरे । उनले भने, ‘तिलोत्तमा नगरपालिकामा हिजो डीएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेका छन् । यही हो लोकतन्त्र ? देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो ? विवाद हुन सक्छ, छलफल हुन सक्छ ।
लोकतन्त्रमा त्यसो गरिन्छ कि पुलिस लगाएर शासन गर्ने कोसिस गरिन्छ ? गृहमन्त्रीको भाइ त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको मातहतमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने ? त्यो डीएसपी कारबाहीमा पर्छन् कि पर्दैनन् हामी हेर्छौँ । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्र्याएर पोखरीमा चोबल्ने डीएसपी कारबाहीमा पर्छ कि पर्दैन ? गृहमन्त्रीले के भन्नुहुन्छ ?’






