काठमाण्डौ । पाँच लाख रुपैयाँ र एउटा मोबाइल सेटको प्रलोभनमा नेपालीले भारतमा मिर्गौला बेच्ने गरेको खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो । भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा सडक बालबालिकालाई लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमल बहादुर शाही र झापाका आशिष तामाङलाई हुन् । काठमाडौंका सडक बालबालिका र मजदुरलाई फकाएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट थाहा हुन आएको छ । मजदुर र बालबालिकालाई उनीहरुले भारतमा लगेर ‘मिर्गौला बेचेपछि ५ लाख नगद र ५० हजार पर्ने मोबाइल पाइन्छ’ भनेर डिल गर्ने गरेका थिए ।
पक्राउ परेका दुईजना त्यसरी मिर्गौला बेचेका पीडित पनि हुन् । उनीहरुले आफ्नो शरीरबाट मिर्गौला झिकेको देखाएर ‘शरीरमा दुईवटा मिर्गौला हुन्छ, एउटा बेच्दा कुनै असर गर्दैन’ भनेर पीडितलाई फकाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूले सडकपेटीमा जीवन निर्वाह गर्ने र विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई आफ्नो जालमा पार्ने र नेपालबाट भारत पुर्याएपछि सुविधासम्पन्न होटेलमा राखेर पौष्टिक आहार समेत खुवाइने गरेको खुलेको छ ।






