काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले स्नातकोत्तर तहको पहिलो सेमेस्टार राजनीतिशास्त्रको प्रश्नपत्र बाहिर आएको स्वीकार गरेका छन् । आज बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उनले त्योभन्दा अगाडि त्यही तहको प्रश्नपत्र बाहिर आएको छानबिन गरिरहँदा अर्को घटना दोहोरिएको बताए ।
उपकुलपति बास्कोटाले प्रश्नपत्र बाहिर आएको विषयमा छानबिन गर्दा सत्यता रहेको पाइएको बताए । उनले छानबिन समितिले प्रश्न बाहिर ल्याउन संलग्नलाई कारबाही गर्ने निर्णय गरेको पनि बताए । ‘पहिलो प्रश्न पत्रको छानबिन गर्न नपाउँदै दोस्रो पटक प्रश्नपत्र दोहोरिएको घटना बाहिर आयो । सन् २०२० मा जुन प्रश्न आएको थियो, सन् २०२१ मा पनि त्यही प्रश्नपत्र आएको पाइयो । परीक्षा समितिले यस्तो गल्ती गर्नेलाई के–कस्तो कारबाही गर्ने भनेर निर्णय गरिसकेको छ । अब त्रिविको कार्यविधिमा नै यस्तो गल्ती गर्नेलाई कस्तो कारबाही गर्ने भन्ने विषय यकिन गर्नुपर्ने देखिएको छ ।’उपकुलपति बास्कोटाले भने ।
उपकुलपति बास्कोटाले विभिन्न घटनाबाट पाठ सिकेर अब प्रश्नपत्र बनाउने काममा कठोर बन्ने निर्णय भइसकेको बताए । उनले अब हुबहु प्रश्नपत्र बनाउन जो सहभागी हुन्छ उसलाई तीन वर्षसम्म पठनपाठन र परीक्षामा सहभागी नगराउने निर्णय भएको पनि बताए ।






