बर्दिया । पश्चिम तराईका थारु समुदाय देखिएको सिकल सेल र थालेसेमिया रोग बर्दियामा बढि देखिएको छ । भेरी अस्पताल बाँकेमा उपचार गराउने बिरामी मध्ये सबैभन्दा बढि बर्दिया जिल्लाका विरामी बढि रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार उपचार गराउने विरामी मध्ये बर्दिया जिल्लाका पाँच सय ६१ जना, दाङ्गका तिन सय , कैलालीका एक सय १८ जना बाँके जिल्लाका एक सय २४ जना र सुर्खेत जिल्लाका ३१ जना रहेका छन् ।
बर्दिया जिल्लामा स्वास्थ्य कार्यालय बर्दियाले एक हजार ९ सय ९२ जनामा गरेको स्क्रिनिङ्ग जाँचमा ११ प्रतिशत सिकल सेल र थालेसेमिया ४ प्रतिशतमा फेला परेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बर्दिया जिल्लाका सबै भन्दा बढि सिकल सेल राजापुर नगरपालिकामा फेला परेको छ । राजापुर नगरपालिकामा ५ सय ५ जनाको रगत जाँच गर्दा ८० जनालाई (१६ प्रतिशत) लाई सिकलसेल देखा परेको छ ।
फेला परेका मध्ये १९ जना बिरामी फेला रहेका छन् । त्यसैगरी गेरुवा गाउँपालिकामा तिन सय ४४ जनामा रगत जाँच गरीएकोमा १४ प्रतिशतमा सिकल सेल फेला परेको छ भने बाँगसढी नगरपालिकामा दुई सय २५ जना मध्ये १३ प्रतिशतमा सिकल सेलका बिरमी फेला परेका छन् । त्यसैगरी बर्दियाकै मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा मा १० प्रतिशत सिकलसेलका बिरामी देखा परेका छन् । ठाकुरबाबा नगरपालिकामा पनि यस रोगका बिरामी ८ प्रतिशत फेला परेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
थारु समुदायका युवाहरुले रगत जाँच गरेर सिकल सेल थालेसेमीया कुण्डली मिलाएर विवाह गरेमा जन्मेका सन्तानहरुमा रोग देखा नपर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । उनले मलेरीया रोग हुने र लामखुट्टे पाइने स्थानमा यो रोग देखा पर्ने गरेको बताए । वंशाणुगत रोग रहेकोले जो कसैले पनि विवाह गर्दा सिकलसेल परिक्षण गरेर मात्र गर्ने विवाहको साइत मिलाउदा सिकलसेल थालेसेमिया कुण्डली मिलाउनु पर्ने स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए ।
गुलरिया नगरपालिकाका एक सय जना मधेशी समुदायको रगत जाँच गर्दा सिकल सेल फेला परेन भने ४ जनामा थालेसोमिया फेला परेको छ । भने बारबर्दिया नगरपालिकाका २ सय जना पहाडी समुदायको रगत जाँच गर्दा सिकलसेल र थालेसेमिया फेला परेन । यस अघि बारबर्दिया नगरपालिकाले थारु समुदायका एक देखि २९ बर्ष उमेर समुहका २० हजार थारु युवा तथा बालबालिकाहरुलाई जाँच गर्दा ११.३ प्रतिशतमा सिकलसेल फेला परेको थियो ।






