काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार केपी ओलीकै बाटोमा अघि बढिरहेको बताएका छन् । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनुका साथै संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएर ओलीकै बाटोमा हिँडेको बताएका हुन् ।
‘तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकवादतर्फ जानु हो भनेका थियौँ । गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौँ तर वर्तमान सरकार बनेको पनि झण्डै एक वर्ष पुगिसक्यो तर यस्ता विषयहरू प्राथमिकतामा किन परेनन् ?
भ्रष्टाचार काण्डहरूको छानबिन किन ओझेलमा पर्यो ? सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेही बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।’ उनले भने‘ओली नेतृत्वकै सरकारले संविधानमा भएको संवैधानिक परिषद् सम्बन्धी व्यवस्थाको प्रतिकुल हुनेगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संविधान मिच्ने काम गरेको थियो ।’






