काठमाण्डौ । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओबादीका प्रमुख सचेतक गुरुङले एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाउन माग गरेका हुन् ।
उनले एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन ? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए । गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने र अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । तर, १९ असारमा परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरिएको र तयारी भने भइरहेको जनाएको थियो ।
यसपश्चात् बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले एसपीपीमा सहभागी नहुने अविलम्ब अमेरिकालाई पत्र पठाउन माग गरेका हुन् । ‘सरकारले गरेको एसपीपी सम्झौता नगर्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस्,’ गुरुङले भने, ‘आइपीएसको सदस्य पनि नेपाल बन्न सक्दैन । यसबारे पनि पत्राचार गरियोस् ।
एमसीसी अनुमोदन गर्ने क्रममा संसद्ले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगरेको भनिएको विषयलाई पनि प्रष्ट्याउन उनले माग गरे । उनले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्विकार गरेमात्रै परियोजना नेपालमा लागू हुने पनि स्मरण गराए । प्रमुख सचेतक गुरुङले नेपाल आईपीएस ९इन्डोप्यासेफिक स्ट्राटिजी० को सदस्य राष्ट्र बन्नै नसक्ने धारणा समेत राखे ।






