काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई विशेषगरी कम्युुनिष्टहरुले आफ्ना नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दा बोलीचालीको भाषामा प्रयोग गर्ने कमरेड आफुलाई मन पर्ने बताएका छन् । शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले आफुलाई पनि कमरेड शब्द मन पर्ने बताएका हुन् ।
उनले आफूलाई कमरेड शब्द असाध्य नै मनपर्ने भन्दै कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने पनि बताए । उनले भने, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, सङ्घर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रूपमा सम्बोधन गर्न चाहन्छु ।’
अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रबादी पार्टी बनाउने उद्घोष गरे । उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आबद्ध हुन पनि आग्रह गरे । अध्यक्ष थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गरे ।






