काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले बजेट बढाउने आफ्नो मागलाई मन्त्रिपरिषद्ले समेत चासो नदिएको गुनासो गरे । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरे ।
उनले बारम्बार मन्त्रिपरिषद्को बैठक र अर्थ मन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाइ नभएको उनको भनाइ छ । उनले भने,‘कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ । तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा झन्डै साढे १० अर्ब रुपैयाँले घट्न गएको हुनाले बारम्बार अर्थ मन्त्रीलाई भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाइ भएन ।’
मन्त्री आलेले आज आईतबार नै मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आले मगरले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिएका हुन् । उनले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । गठबन्धन सरकारमा आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए । आज राजीनामा दिँदै उनले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको दाबी गरे ।






