दाङ । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीलाई दाङबाट बुटवल पुर्याईएको छ । मंगलबार प्रेमी एकराजको परिवार र छोरीलाई कुटपिट गरेको आरोपमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दर्ता गरिए लगत्तै उनलाई लुम्बिनी प्रदेश राजधानी बुटवल पुयाईएको हो । प्रेमी भनिएका एकराज बस्नेतको श्रीमती मीना भण्डारी बस्नेत र उनका सन्तानलाई घरैमा गएर हातपात गरेको आरोपमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दर्ता गरिएको हो ।
श्रीतमी मीनाले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै राज्यमन्त्री वलीविरुद्ध किटानी जाहेरी दिएकी छन् । प्रहरीलाई साथैमा लगेर प्रेमी एकराजको श्रीमती मीना र उनको छोरामाथि कुटपिट गरेको आरोपमा प्रहरीले नै राज्यमन्त्री बिमलाको विरुद्धमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ ।
मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीलाई बुटवल पठाइएको छ । विमलाले मंगलबार बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीको भनार्इ छ । बिमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुगेको स्वयम प्रहरीले जनाएको छ ।
राज्यमन्त्री बिमलाले मीना र उनकी छोरीलाई कुटपीट गरिरहंदा उनीसंगै गएका उनका सुरक्षा गार्ड भने मुख दर्शक बनेका थिए । बिमलाले प्रेमी एकराज र मीनाको घर तोडफोड समेत गरेकी छन् । उनले झ्याल ढोका र दराजको सिसा फोड्नुका साथै झुल समेत च्याति दिएको मीनाले बताएकी छन् । राज्यमन्त्री बिमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।






