पर्सा । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६ औँ साधारण सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् । निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’, उनले भने,‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’
मन्त्री शर्माले त्रिभुवन विमानस्थलको वैकल्पिक रूपमा मात्र नभएर मधेस र देशकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए । उनले निजगढ विमानस्थल र काठमाण्डौ–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए । त्यस्तै वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि उनले बताए ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले बिहान वीरगञ्ज चिनी उद्योगको निरीक्षण गरेको थियो । त्यस अवसरमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालनयोग्य रहेको जानकारी दिएका थिए ।
‘वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’, उनले भने, ‘६, ७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।
उनले पथलैया–वीरगञ्ज करिडोर, निजगढ विमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने विषय, सुक्खा बन्दरगाह, एकीकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट वीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको जानकारी पनि दिए । कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा लाइफलाइन भएको बताए ।






